सुदूरपश्चिममा सत्ता गठबन्धनबाट बाहिरियो जसपा
केन्द्रमा सत्तारुढ गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशमा भने गठबन्धन तोड्ने निर्णय गरेको छ । प्रदेशसरकारलाई समर्थन दिँदै आएको जसपाले प्रदेश सरकारमा तीन दलको मात्रै प्रतिनिधित्व गरिएको भन्दै समर्थन फिर्ता गर्दै ठबन्धन तोड्ने निर्णय गरेको हो । जसपाबाट प्रदेशसभामा एक जनाको प्रतिनिधित्व रहेको छ ।
शुक्रबार सुदूरपश्चिम सरकार पुनर्गठन हुँदा कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री थपिएका छन् । तर, जसपालाई सहभागी गराइएको छैन । ‘केन्द्रबाट पाँचदलीय गठबन्धन प्रदेश तथा स्थानीयस्तरमा पनि विस्तार गर्दै अगाडि बढ्ने निर्देशन दिएको थियो,’ जसपाका प्रदेश अध्यक्ष कृष्णकुमार चौधरीले भने, ‘तर जसपालाई आउट गर्दै तीन दलअघि बढेपछि हामीले गठबन्धन तोड्ने निर्णय गरेका हौं ।’ उनले आगामी चुनावमा सुदूरपश्चिममा गठबन्धन नहुने बताए ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले कुनै जानकारी नै नदिई कांग्रेसलाई सरकारमा सहभागी गराउँदा जसपाले अपमान भएको महसुस गरेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै प्रदेशसँग कुनै छलफल नगरी केन्द्रबाट प्रत्यक्ष हस्तक्षेप गरेर सुदूरपश्चिम प्रदेश सरकारमा नयाँ मन्त्री पठाइएको भन्दै सुदूरपश्चिम प्रदेशस्थित सत्तारुढ दलभित्र असन्तुष्टि बढेको छ ।
सरकारका मन्त्री हेरफेर गर्दा प्रदेशस्तरमा कुनै जानकारी नै नगराई खल्तीका मान्छेलाई मन्त्री बनाइएको नेपाली कांग्रेसका असन्तुष्ट प्रदेशसभा सदस्यको गुनासो छ ।
२६ चैत २०७८, शनिवार २०:१३ बजे प्रकाशित













