गौरीफन्टा नाकामा २४ सय बढीको भिडमा थिए बैतडीका ४ जना संक्रमित
धनगढी,जेठ १०। कैलालीको गौरीफन्टा नाकाबाट बिहीबार २५ सय मानिससँगै स्वदेश फर्किएका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार स्वदेश फर्किने क्रममा कोरोनाको लक्षण देखिएपछि सिधै कैलालीको सेती प्रादेशिक अस्पताल लगिएका २२ जनामध्ये चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बाँकी १८ जनाको रिपोर्ट आउन बाँकी रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए ।सयौंको भिडमा रहेका व्यक्तिलाई कोरोना संक्रमण देखिएपछि अहिले सुदूरपश्चिम प्रदेशमा त्रास फैलिएको छ।
बिहीबार सीमाबाट स्वदेश प्रवेश गरेका २४ सय ९८ जनामध्ये छ सय जनाको मात्र र्यापिड डाइग्नोस्टिक टेस्ट विधिबाट कोरोना परीक्षण गरिएको थियो ।शनिबार संक्रमण पुष्टि भएका चारै जना बैतडीको शिवनाथ गाउँपालिकाका हुन् । शिवनाथ गाउँपालिकाका–१ का २७ र २० वर्षीय तथा वडा नम्बर २ का २२ र ३० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।
उनीहरू चारै जनाको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा छन् ।यसअघि शुक्रबार पनि सुदूरपश्चिम प्रदेशमा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । कैलालीको जानकी गाउँपालिकाका तीन जना, डडेल्धुराको परशुराम नगरपालिका एक जना र बैतडीको शिवनाथ गाउँपालिकाका एक जनालाई शुक्रबार संक्रमण देखिएको थियो ।
उनीहरूको टीकापुर, डडेल्धुरा र बैतडी अस्पतालमा उपचार भइरहेको छ ।परीक्षणविनै नेपाल प्रवेश गरी स्थानीय तहमा पठाइएकाहरूबाट सुदूरपश्चिममा कोरोना संक्रमण व्यापक हुन सक्ने जोखिम बढेको प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले बताए ।
‘यसले ठूलो जोखिम निम्त्याउन सक्छ’ उनले भने ‘अब त्यो भिडमा रहेका सबैको परीक्षण गर्नु आवश्यक छ ।’ बिहीबार स्वदेश फर्केर विभिन्न स्थानीय तहमा पुगेकाहरूको खोजी सुरु गर्नुपर्ने अवस्थीले बताए ।
१० जेठ २०७७, शनिवार १४:२३ बजे प्रकाशित































