सुदूरपश्चिम सरकारको मन्त्रिपरिषद् पुनर्गठन, नवनियुक्त मन्त्रीले लिए सपथ

सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । प्रदेश सरकार पुनर्गठन भएसँगै मन्त्रिपरिषद्मा काँग्रेसले पनि सहभागिता जनाएको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टले काँग्रेसका रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, गोबिन्द बोहोरालाई सामाजिक विकास मन्त्री र टेकबहादुर रैकालाई सामाजिक बिकास राज्य मन्त्रीमा नियुक्त गरेका हुन्। यस्तै आर्थिक मामिला मन्त्रीमा एकीकृत समाजवादीका प्रकाश रावल नियुक्त भएका छन्। यस्तै नवनियुक्त मन्त्रीहरूले आजै शपथ ग्रहण गरेका छन् ।

एकीकृत समाजवादीबाट मन्त्री रहेका आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आर्थिक मामिलामन्त्री तारा लामालाई फिर्ता बोलाइएको हो ।
उनीहरूले राजीनामा दिएपछि नयाँलाई नियुक्त गरिएको हो । यस्तै भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट चुनकुमारी चौधरी फिर्ता भएकी छिन् भने एकीकृत समाजवादीकै कुलवीर चौधरी नियुक्त भएका छन्।

अर्थ राज्यमन्त्रीबाट माया तामाङ बोहरा फिर्ता भएकी छिन् भने अमर साउद नियुक्त भएका छन् । सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउदलाई पनि समाजवादीले फिर्ता बोलाएको छ ।
यसअघि सम्म प्रतिपक्षमा रहेको काँग्रेसले स्थानीय तहको निर्वाचन नजिकिँदै गइरहेको बेला सत्तारुढ गठबन्धनले केन्द्रबाटै चुनावी तालमेल गर्ने निर्णय गरे पनि सुदूरपश्चिम प्रदेशमा काँग्रेसले आफूलाई सरकारमा सामेल नगराएकाले स्थानीय निकायको चुनावमा गठबन्धन हुन नसक्ने बताउँदै आएको थियो ।


२५ चैत २०७८, शुक्रवार २०:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु