काँग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुँदै
सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद पुनर्गठन हुने भएको छ । सत्तारुढ गठबन्धनबीच भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुने भएको हो । हाल प्रतिपक्ष भूमिकामा रहेको नेपाली काँग्रेस सरकारमा सहभागी हुने भएको हो । काँग्रेस दुई मन्त्रालयसहित सरकारमा सहभागी हुन लागेको सरकारका प्रवक्ता समेत रहेकी कानुन मन्त्री पूर्णा जोशी जानकारी दिइन् ।
मंगलबार बसेको गठबन्धनको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसको सहभागीबारे ठोस सहमति भएको बताइएको छ । जसअनुसार आजै मन्त्रिमण्डल पुनर्गठनको तयारी छ ।
स्रोतका अनुसार रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी दिइन लागेको छ । यस्तै गोविन्द बोहरालाई सामाजिक विकास मन्त्रालयको र टेकबहादुर रैकालाई सामाजिक विकास राज्य मन्त्रीको जिम्मेवारी दिइन लागेको जनाएको छ ।अहिले प्रदेशमा माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री छन्।
गत बिहीबार बसेको गठबन्धनको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसको सहभागिताबारे छलफल भएको थियो । त्यतिबेला नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल टर्की हुँदा विषयले मूर्तरूप पाएको थिएन । अहिले प्रदेश सरकारमा एकीकृत समाजवादीबाट ४ मन्त्री र ३ राज्यमन्त्री सहभागी छन् ।
२५ चैत २०७८, शुक्रवार २०:०७ बजे प्रकाशित













