सुदूरपश्चिम प्रदेशसभा : सभामुखद्वारा ‘बिजनेस’ दिन रुलिङ
सुदूरपश्चिम प्रदेशसभाको सोमबारको बैठकमा सभामुख अर्जुनबहादुर थापाले सदनमा छलफलका लागि ‘बिजनेश’ दिन सरकारलाई रुलिङ गरेका छन्। बिजनेस नहुँदा आफूले सदनको कारवाही पर सार्नु परेको भन्दै सभामुखले भने, “हामीसँग बिजनेस छैन, सरकार र प्रदेश समितिका सभापतिलाई पटकपटक आग्रह गरेको छु।” संसद्लाई सञ्चालन गर्ने कार्य सरकार र प्रदेशसभामा रहेका समिति दुवैको समन्वयमा अगाडि बढोस् भनी आफूले पहिलो पटक ध्यानाकर्षण गराउनु परेको उनले बताए।
एक अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन आह्वान गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। ६ महिना पुग्न केही दिन मात्र बाँकी रहँदा यो अधिवेशन आइतबार मात्र सुरु भएको थियो। प्रदेशसभा सचिवालयमा हाल कुनै पनि नयाँ विधेयक दर्ता नभएको बताइएको छ। हिजोको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीले सभामुखसँग समय लिएर सरकारले गरेका गतिविधिको प्रगतिबारे सदनलाई जानकारी गराए। उनले कर्मचारीको अभावलगायतका जटिलताका बाबजुद चालू आवमा प्रदेश सरकारको वित्तीय प्रगति ८० प्रतिशत हासिल हुने प्रक्षेपण गरिएको बताए।
विगतको एकात्मक राज्यव्यवस्थाका सरकारले गरेको कामको तुलनामा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको प्रदेश सरकारद्वारा भइरहेका विकाससम्बन्धी काम उत्साहजनकरुपमा अघि बढेको भन्दै उनले अहिलेसम्म भौतिक ७० देखि ७५ प्रतिशत प्रगति हासिल भएको बताए।
१५ चैत २०७८, मंगलवार ०९:२३ बजे प्रकाशित































