कैलालीमा तीव्र गतिमा सवारी चलाउनेलाई कारबाही गरिने
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले तीव्र गतिमा सवारी चलाउनेलाई अव कारबाही गर्ने भएको छ । सुदूरपश्चिममा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएको छ । सडक दुर्घटना बढ्दै गएको भन्दै सवारी साधनको तीव्र गति रोक्न ट्राफिक प्रहरीले सोमबारदेखि आधुनिक उपकरण ‘लिडार स्पिड गन’ (गति मापन यन्त्र) प्रयोगमा ल्याएको हो ।
कैलालीको अत्तरिया चौराहामा १ सय २० मिटर अगाडिबाट ट्राफिकले ‘लिडार स्पिड गन’ माध्यमबाट सवारी कुन गतिमा गुडेको छ पत्ता लगाउँदै तीव्र गतिमा गुडाउने सवारीलाई कारबाही थालेको ट्राफिक प्रहरी निरीक्षक गणेश राज उप्रेतीले जानकारी दिए ।
दिन प्रति दिन बढ्दै गईरहेको सवारी दुर्घटनालाई न्यूनिकरण गर्नका लागि लिडार स्पिड गन प्रयोगमा ल्याइएको उनको भनाई छ ।

सवारी तीव्र गतिमा गुडाउनाले दुर्घटना बढेको भन्दै तीव्र गतिमा सवारी चलाउनेलाई सुरुमा सम्झाइ बुझाई गर्ने र त्यसपछि पनि नमानेमा कारबाही गरिने उनले बताए । बिस्तारै गुड्न सकिने सडकमा सवारीले तीव्र गतिमा गुडाउन थालेपछि लिडार स्पिड गनको प्रयोग गरिएको ट्राफिक प्रहरी निरीक्षक उप्रेतीले बताए । पहिलो दिन सोमबार मात्रै तीव्र गतिमा सवारी गुडाउने ३७ जना कारबाहीमा परेका छन् ।
जसमा २४ सवारीबाट पाँच सयका दरले जरिवाना लिएर छोडिएको छ भने १३ सवारी साधनको कागजात नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
१४ चैत २०७८, सोमवार १६:२९ बजे प्रकाशित






























