आईपीएलमा चेन्नईलाई हराउँदै कोलकाताको विजयी सुरुवात
कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ । मुम्बईमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराउँदै कोलकाताले विजयी सुरुवात गरेको हो ।
चेन्नईले दिएको १ सय ३२ रनको लक्ष्य कोलकाताले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । कोलकाताको जितमा अजिंक्य रहाणेले सर्वाधिक ४४ रन बनाए । साम बिलिंग्सले २५ रन जोड्दा श्रेयस एयर २० रनमा अविजित रहे । नितिश रानाले २१ तथा भेन्कातेस एयरले १६ रन बनाए ।
चेन्नईका ड्वाने ब्राभोले ३ तथा मिचेल स्टानरले १ विकेट लिए । पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । चेन्नईका लागि महेन्द्रसिंह धोनीले अविजित रहँदै ५० रनको अर्धशतकीय इनिङ खेले ।
रोबिन उथप्पाले २८ रन जोड्दा कप्तान रवीन्द्र जडेजाले अविजित २६ रन बनाए । अम्बाती रायडु १५ रनमा आउट भए ।कोलकाताका उमेश यादवले २ तथा वरुण चक्रवर्ती र आन्द्रे रसेलले १–१ विकेट लिए । आज दुई खेल हुनेछन् ।
१३ चैत २०७८, आइतवार ०८:२१ बजे प्रकाशित































