चलचित्र ‘चिसो एस्ट्रे’ चैत ४ मा रिलिज हुने

नेपाली चलचित्र ‘चिसो एस्ट्रे’ आगामी चैत ४ मा रिलिज हुने भएको छ । चलचित्रको निर्माण पक्ष र कलाकारको टोली प्रसार प्रचारका लागि शुक्रबार धनगढी पुगेर सो जानकारी दिएको हो ।
कञ्चनपुरको महेन्द्रनगरका दिनेस पाल्पालीले निर्देशन गरेको फिल्ममा धनगढीका दिव्य देवसहित सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रविन तामाङको मुख्य भूमिका छ ।

धनगढीमा आज गरिएको आयोजित पत्रकार सम्मेलनमा निर्देशक पाल्पालीले आफूले भूपि शेरचनको ‘चिसो एस्ट्रे’ शीर्षकको कविताबाट प्रभावित भएर फिल्म तयार गरेको बताएका छन् । फिल्मका मुख्य अभिनेता दिव्य देवले आफूले गाउँबाट सहर आउने मदन नामको चरित्र निर्वाह गरेको जानकारी दिए ।

थिएटरबाट फिल्ममा आएका उनले गाउँबाट सहरमा आउने मानिसका सपना कसरी एस्ट्रेको चुरोटझैं निभ्दै जान्छन्, फिल्मले यही विषयलाई प्रस्तुत गरेको जानकारी गराए। यस्तै सृष्टि श्रेष्ठले फिल्मभित्र शालीनताको चरित्रको निर्वाह गरेकी छिन्।
पाल्पालीकै लेखन रहेको फिल्ममा अजर जंगमको संगीत छ। कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन्। निर्माणमा भने महेशबाबुलाई प्रवीण स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन्।

सहनिर्मातामा भने रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा रहेका छन् । निर्माणमा क्रिएटिभ ह्यान्डस् नेपालको पनि सहभागिता छ । उज्जल बस्ताकोटीको छायांकन रहेको चलचित्रमा उज्ज्वल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन्। फिल्मको जम्मा लागत तीन करोड रुपैँया रहेको छ । काठमाडौंमा छायाँकन भएको फिल्म तयार हुन १ सय ५ दिन लागेको निर्माण कम्पनी निर्देशक पाल्पालीले बताए ।


२७ फागुन २०७८, शुक्रवार १६:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु