महेन्द्रनगरमा नयाँ प्रविधिसहित ‘पुष्प तारा सिनेमा हल’ सञ्चालनमा आउँदै

कंचनपुर  । कंचनपुरको महेन्द्रनगरस्थित केही समयदेखि बन्द रहेको पुरानो सेती–महाकाली फिल्म हल अब नयाँ प्रविधि र आधुनिक सुविधासहित ‘पुष्प तारा सिनेमा हल’का रूपमा पुनः सञ्चालनमा आउने भएको छ।

बन्द रहेको हलको पुनर्निर्माण तथा स्तरोन्नति गर्दै आधुनिक प्रविधिका उपकरण जडान गरेर नयाँ नाम र नयाँ स्वरूपमा सञ्चालनमा ल्याउन लागिएको हो। हललाई यही भाद्र महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

सिनेमा हलका सञ्चालक तारादत्त अवस्थीले नयाँ प्रविधि र आधुनिक सुविधासहित हल सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए। दर्शकको बदलिँदो चाहना र चलचित्र प्रदर्शनमा आएको प्रविधिगत विकासलाई ध्यानमा राखेर पुरानो हललाई नयाँ स्वरूप दिइएको उनको भनाइ छ।

करिब २०० सिट क्षमता रहेको सिनेमा हलको पुनर्निर्माण तथा स्तरोन्नतिमा करिब १ करोड ५० लाख रुपैयाँ लगानी गरिएको छ। नयाँ प्रविधिसहित हल सञ्चालनमा आएपछि महेन्द्रनगर तथा आसपासका क्षेत्रका चलचित्रप्रेमी दर्शकले आफ्नै क्षेत्रमा आधुनिक प्रविधि र सुविधासहित चलचित्र हेर्न पाउनेछन्।

लामो समयदेखि महेन्द्रनगरको चलचित्र क्षेत्रसँग जोडिएको सेती–महाकाली फिल्म हल केही समय बन्द रहेपछि नयाँ नाम, नयाँ प्रविधि र नयाँ संरचनासहित पुनः सञ्चालनमा आउन लागेको हो। हल पुनः सञ्चालनमा आउने भएपछि स्थानीय चलचित्रप्रेमी तथा चलचित्रकर्मीमा समेत उत्साह बढेको छ।

नयाँ प्रविधि र आधुनिक सुविधासहितको सिनेमा हल सञ्चालनमा आएपछि महेन्द्रनगरको चलचित्र तथा मनोरञ्जन क्षेत्रमा समेत थप चहलपहल बढ्ने अपेक्षा गरिएको छ।


२ भदौ २०८३, मंगलवार १२:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु