गृहमन्त्रीले डडेल्धुरा र बझाङका सिडीओलाई सोधे : कोरोना, चिसो र सुरक्षाबारे के भइरहेको छ ?
गृहमन्त्री बालकृष्ण खाँणले जिल्लामा कोभिड–१९ संक्रमण, शीतलहरको अवस्था र सरकारले गरिब र अशक्तलाई तराईमा शीत लहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा र दाउरा वितरणबारे २० जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता गरेका छन्।
शनिबार बिहान गृहमन्त्री खाँणले प्रजिअहरुसँग टेलिफोन वार्ताबाट सम्बन्धित जिल्लामा कोभिड–१९ संक्रमणको अवस्था, खोप लगाएकाको संख्या, शान्ति सुरक्षाको अवस्था र न्यानो कपडा वितरणबारे जानकारी लिएका हुन्।
गृहमन्त्री खाँणले मनाङ, डडेल्धुरा, गोरखा, ताप्लेजुङ, बझाङ, सोलुखुम्बु, मुगु, खोटाङ, ओखलढुंगा, सुनसरी, उदयपुर, पाँचथर, सिन्धुपाल्चोक, इलाम, रसुवा, म्याग्दी, लमजुङ, सप्तरी, रौतहट र पर्वतका प्रजिअहरुसँग टेलिफोन वार्ता गरेका हुन्।
वार्ताको क्रममा गृहमन्त्री खाणले जिल्ला प्रशासन र जिल्लास्थित सरकारी कार्यालयमा कोभिडको अवस्था, शान्ति सुरक्षाको स्थिति, तराईमा शीतलहर र हिमालमा हिमपातको प्रभावमा परेका गरिब र अशक्त नागरिकलाई न्यानो कपडा वितरणको कार्यबारे जानकारी लिएका हुन्।
सरकारले गत मंसिर एक गते नै रकम खर्च गर्ने अख्तियारीसहित तराईमा शीतलहरबाट बच्न र हिमालमा हिमपातबाट बच्न न्यानो कपडा वितरणका लागि निर्देशन पठाएको थियो । त्यो निर्देशनको कत्तिको कार्यान्वयनबारे गृहमन्त्रीले जानकारी लिएका हुन्। त्यस्तै सीमा नाकाबाट आउने नागरिकमा कोभिडको संक्रमणबारे पनि मन्त्री खाणले जानकारी लिएका थिए।
१५ माघ २०७८, शनिवार १४:२८ बजे प्रकाशित






























