नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्षमा चौधरीले गरे उम्मेदवारी घोषणा
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा धनगढीस्थित चौधरी बुक डिपोका सञ्चालक सञ्जय चौधरीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार चौधरीले पुष २८ र २९ गते चितवनको सौराहामा आयोजना हुन लागेको महासंघको छैठौ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनलाई नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको सुदूरपश्चिम प्रदेश समिति र प्रदेशका नौवटै जिल्लाका अध्यक्षहरुले समर्थन गरेका छन् ।
चौधरी नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको सुदूरपश्चिम क्षेत्रीय समिति र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कैलाली जिल्लाका संस्थापक अध्यक्ष हुन् । उनले महासंघको केन्द्रीय समितिमा प्रथम उपाध्यक्ष र सल्लाहकारका रुपमा भूमिका निर्बाह गरिसकेका छन् । चौधरी ६० वर्षअघि धनगढीमा स्थापित चौधरी बुक डिपोका सञ्चालक हुन् ।
चौधरीले आफू निर्बाचित भएमा महासंघको भवन र सचिवालय स्थापना गर्ने, पुस्तक, मसलन्द तथा स्टेशनरीको अन्तर्राष्ट्रिय प्रदर्शनी गर्ने, पुस्तक प्रकाशक, उत्पादक, वितरक र खुद्रा व्यवसायीहरुका बीचमा सौहाद्र सम्बन्ध स्थापना गर्ने बताएका छन् ।
उनले अन्तर्राष्ट्रिय स्तरमा महासंघको भगिनी सम्बन्ध स्थापित गरी महासंघलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रतिबद्धता गरे ।चौधरीले एसिया, युरोप लगायत अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने शैक्षिक मेला, महोत्सव र प्रदर्शनीमा हरेक प्रदेशबाट कम्तिमा २० जनाका दरले महासंघका पदाधिकारी, सदस्य तथा व्यवसायीहरुलाई सहभागी गराउने योजना बनाएका छन् ।
चौधरीको संयोजकत्वमा २०६७ सालमा सुदूरपश्चिम प्रदेशको धनगढीमा राष्ट्रिय स्तरको शैक्षिक तथा पुस्तक प्रदर्शनी आयोजना भएको थियो । उनको नेतृत्वमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कैलाली देशकै उत्कृष्ट शाखाका रुपमा सम्मानित भएको थियो ।
१४ पुस २०७८, बुधवार १४:१९ बजे प्रकाशित













