लिपुलेकमा मतदाता नामावली सङ्कलन गर्ने तयारी
नेपालको भौगोलिक चुच्चे नक्सामा समेटिएका महाकाली पारिका भू–भागमा पनि मतदाता नामावली सङ्कलन हुने जनाइएको छ ।
अहिले निर्वाचन आयोगले दोस्रो चरणको मतदाता नामावली सङ्कलन अभियानमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा मतदाता परिचयपत्र सङ्कलन हुने जनाइएको छ।
सरकारले त्यस क्षेत्रका बासिन्दाको जनसङ्ख्या जनगणनामार्फत समेटेलगत्तै त्यस क्षेत्रका नेपाली नागरिकलाई मतदाता नामावलीमा समेट्ने तयारी थालेको हो । २०७७ साल जेठ ७ गते नेपालको अद्यावधिक चुच्चे नक्सा सार्वजनिक गरिएको थियो ।
पहिलेदेखि नै नेपालको भूभाग रहिआए पनि छिमेकी मुलुक भारतसँगको विवादका कारण ती भूभागमा औपचारिक गतिविधि कम रहेको थियो तर यो वर्ष भएको जनगणनाले नेपाल सरकारको औपचारिक उपस्थितिलाई बलियो बनाएको छ ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रका बासिन्दाको नाम मतदाता नामावलीमा समेटिने र आगामी निर्वाचनमा उनीहरूले सहभागिता जनाउने गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
उनका अनुसार केन्द्रीय तथ्याङ्क विभागले विभिन्न माध्यमबाट त्यहाँका नेपालीको लगत जनगणनामार्फत लिएको छ ।
१४ पुस २०७८, बुधवार १४:०४ बजे प्रकाशित













