बझाङको एक वडा कार्यालयमा तालाबन्दी

बझाङको दुर्गाथली गाउँपालिकाको एक वडा कार्यालयमा तालाबन्दी गरिएको छ । दुर्गाथली गाउँपालिका–२ को दाणिमपाटा र दमाई गाउँका बासिन्दाले सडक कटानपछि गाउँ जोखिममा परेको भन्दै तटबन्धन गर्नुपर्ने माग गर्दै तालाबन्दी गरेका हुन् । उनीहरुले गाउँ जोगाउनका तटबन्ध गर्न कसैले चासो नदिएको गुनासो गरेका छन् ।

गाउँपालिकाले आर्थिक वर्ष ०७४÷७५ सालमा दाणिम पाटा र दमाई गाउँका लागि सडक कटान गर्न ४ लाख बजेट छुट्याएको थियो। चाखाका बासिन्दाले जग्गा नदिएपछि चौधारीबाट दाणिमपाटा गाउँमा सडक कटान गरिएको र सडक कटानले गर्दा गाउँ जोखिममा परेको स्थानीयले बताएका छन् ।

पहिरो नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले १० लाख रकम छुट्याए पनि गाउँलेलाई जानकारी नदिई टाठाबाठाले समिति गठन गरी सम्झौता गरेको स्थानीयको आरोप छ ।

स्थानीयले वडा कार्यालयमा ताला लगाएपनि प्रहरी परिचालन गरी काटिएको छ । वडा कार्यालयमा कुनै पनि निवेदन नदिएको र आफूलाई कुनै जानकारीविना नै ताला लगाएकाले ताला काट्नुपरेको वडाध्यक्ष दीपक सोतीले बताए ।

दाणिमपाटा र दमाई गाउँमा कुनै जोखिम नरहेको र प्रदेश सरकारले छुट्याएको बजेटबाट दमाई गाउँ तटबन्धन कार्य सुचारु हुने क्रममा रहेको समेत उनको भनाइ छ।


१४ पुस २०७८, बुधवार १३:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु