३३ किलो सुन प्रकरणमा मुछिएका अग्रवाल इन्टरपोलद्वारा पक्राउ
३३ किलो सुन प्रकरणमा मुछिएका कृष्णगोपाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई पक्राउ गर्नका लागि इन्टरपोलबाट रेडकर्नर नोटिससमेत जारी भएको थियो ।झापा साविक शिवगंज गाबिस–१ ठेगाना भएका ५० वर्षीय आइतबार प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
गोरे भनिने चुडामणि उप्रेतिसमेत भएको आपराधिक समूह स्थापना र सञ्जालनमा भूमिका खेलेको आरोप उनीमाथि छ ।सुनको अवैध चोरी पैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तब्य ज्यान मुद्दामा संलग्न भई फरार रहेका प्रतिवादीहरु मध्येका अग्रवाल एक हुन् ।
उनी दुबईबाट नेपाल आउँदैछन् भन्ने सूचनाको आधारमा तत्काल प्रहरीले उनलाई पक्राउ गरेको हो ।जिल्ला अदालत मोरङबाट समेत वारेन्ट जारी भएका अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा २०७५ साउन ८ गते अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउको लागि इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो ।
अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङबाट सम्बन्धित अपराध कसूरमा कारबाही गर्ने गराउने प्रयोजनार्थ हाल महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंमा राखिएको उक्त शाखाले जनाएको छ ।
१९ मंसिर २०७८, आइतवार १८:३२ बजे प्रकाशित































