सुदूरपश्चिमका अग्रणी कृषक अवस्थी : देशभर पुर्याउँछन् उत्पादन्
स्वदेशमा रोजगारीको भरपर्दो माध्यम नपाएपछि दैनिक सयौंको संख्यामा नेपालीहरु विदेशीन बाध्य छन् । जसमा कोही लगानी नभएर त कोही काम गर्ने तौरतरिका नजानेर ।तर काम गर्न जानेको खण्डमा विदेशमा बगाउने पसिना आफ्नै माटोमा बगाए सुन पनि फलाउन सकिन्छ भन्ने उदाहरणका पात्र बनेका छन् डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ भातकाँडाका प्रसाददत्त अवस्थी ।
विदेशीने सोच बनाएका युवाहरुलाई आफ्नै माटोमा केही गर्नुपर्छ भन्ने सन्देश दिएका छन् उनले । देशको मध्यपहाडी क्षेत्रमा तरकारी खेतीमाअवस्थीका तीन दाजुभाई नै सानैदेखि कृषि पेशामा आवद्ध रहँदै आएका छन् ।
बुवालेनै सुरु गरेको तरकारी खेतीमा सबै दाजुभाई नै लागे । वडा नम्बर १ को असीग्राममा चार सय रोपनी जमिनमा आलु, टमाटोर, काँक्रालगायतका तरकारी बाली फलाउँदै आएका अवस्थी दाजुभाईले यसै वर्षदेखि सोही वडाको भातकाँडा नजिकै भेटामा दुई सय रोपनी जमिनमा आलु लगाएका छन् ।
३५ वर्षदेखि बाँझो रहेको जमिन सदुपयोग गर्दै आलु फलाउन सुरु गरिएको छ ।भागेश्वर कृषि तथा पशुपालन फर्म नामक संस्थाबाट तरकारी उत्पादन गरेर देशका विभिन्न ठाउँमा पुर्याइरहेका छन् । ‘चार सय रोपनी जमिनमा मल्चिङ प्रबिधिबाट आलु खेती गरेको छु, ‘उनले भने, ‘बाँकी दुई रोपनी जमिनमा काँक्रा, टमाटर, सिमलालगायत अन्य तरकारी खेती गरेको छु ।’
वर्षमा करिब दुई हजार क्वीन्टल बढी आलु मात्रै फलाउने गरिएको किसान अवस्थी बताउँछन् । यस वर्ष थप दुई सय रोपनी जग्गामा थप आलु लगाइएकाले विगतका वर्ष भन्दा आलु थप उत्पादन हुने उनको भनाई छ । थपिएको दुई सय रोपनी जग्गामा लगाएको केही आलु असोज ३१ गते आएको बाढीले बगाउँदा क्षतिसमेत व्यहोर्नुपरेको उनले बताए ।
उत्पादित तरकारीहरु पहिलो स्थानीय बजार डडेलधुरा, डोटी, अछाम, बैतडी, दार्चुला र तराईका कञ्चनपुर, कैलालीसम्म बिक्री वितरण गरेको उनले बताए । यस्तै, नेपालगञ्ज, बुटवल हुँदै काठमाडौंसम्म आलु, अदुवा, लसुनलगायतकाका उत्पादनहरु पुर्याइरहेको उनले बताए । ‘विभिन्न शहरका हाटबजारमा विक्री केन्द्र राखेरनै आफ्नो उत्पादन विक्री गरिरहेका छौं,’ उनले भने, ‘उत्पादन निर्यातका लागि आफ्नै गाडीहरु पनि छन् ।’ उनले काठमाडौंमा पनि आफ्नो तरकारी विक्री केन्द्र रहेको बताए ।
३० जना भन्दा बढीलाई रोजगारी
६ सय रोपनीमा लगाइएको तरकारी एक्लैले रेखदेख गर्न सकिँदैन । तरकारीको गोडमेल, स्याहारलगायतका काम गर्न नियमित ३० जनालाई रोजगारी दिइएको अवस्थीले बताए । ‘एक खालको तरकारीको सिजन सकियो भने अर्को तरकारी लगाउने सिजन हुन्छ,’ उनले भने, ‘बारीमा नियमति काम चलिरहन्छ,’ उनले भने, ‘एक ठाउँको बारीमा काम सकियो भने, अर्को ठाउँमा पनि जानुपर्छ ।
आलु खेती थप विस्तार गर्ने तयारी भइरहेको हुँदा कामदार थप बढाउनुपर्ने पनि छ ।’
काम पाएन भनेर भौतारिएर विदेशीनु भन्दा यतै कृषि पेशामै केही गर्न सके अरुलाई पनि रोजगारी दिन सकिने उनी बताउँछन् । राज्यको सहयोग भयो र नेपालमै उत्पादन बढाउन सक्यो भनेपनि विदेशबाट दैनिक करोडौंका तरकारी आयात गर्नु नपर्ने उनको भनाई छ ।
‘भारतबाट सुदूरपश्चिममा मात्रै दैनिक २०÷२० गाडी तरकारी नेपालमा आयात भइरहेको छ,’ उनले भने, ‘त्यसैमा पनि मनोमानी रेट हुन्छ । यहाँको पैसा भारततिर गइरहेको छ । यसलाई रोक्न राज्यले कृृषि क्षेत्रलाई महत्व दिनुपर्छ । किसानलाई प्रोत्साहित गर्नुपर्छ । कृषिबाट नै देश आत्मानिर्भर बन्नसक्ने उनको भनाई छ ।
वार्षिक करोडको लगानी
अवस्थी दाजुभाईले तरकारीमा वार्षिक करोड बढीको लगानीगर्छन् । अहिले विस्तारै तरकारी खेती विस्तार पनि गरिरहेकाले लगानी पनि बढ्दै गइरहेको प्रसाददत्त अवस्थी बताउँछन् । ‘गतवर्ष तरकारी खेती गर्दा डेढ करोडसम्म लागत लागेको थियो,’ उनले भने, ‘यस वर्ष थोरै जमिन थप गरेकाले दुई करोड जति लागत पुग्नसक्छ होला ।’
राज्यले अहिले पहिरोपीडित भएका बेला मल, बिउँ, यन्त्रीकरण निःशुल्क वितरण गरिदिएको भए केही राहत हुने उनले बताए ।‘प्रधानमन्त्री कृषि आधुनिकरण प्रयोजना परियोजना कार्यान्वयन इकाइ डडेल्धुराका कार्यरत खेमराज जोशीले किसानलाई ५० प्रतिशत अनुदानमा आलुका बिउँहरु उपलब्ध गराइएको बताए । आलु उत्पादक किसानलाई मल्चिङ प्रबिधिका लागि पनि सहयोग गरिएको बताए ।
मेल्चिङ प्रविधिबाट डेढदेखि दुई गुणा आलु उत्पादन वृद्धि हुने उनी बताउँछन् । उनले किसान अवस्थीलाई पनि मेल्चिङ प्रविधिलगायतमा सहयोग गरिएको बताए । ‘अवस्थी देशकै धरै जमिनमा आलुलगायतका तरकारी बाली उत्पादन गर्ने किसानमा पर्नुहुन्छ,’ उनले भने, ‘उहाँलाई परियोजनाले सहयोग नगर्ने भन्ने हुँदैन । सकेजति उहाँले सहयोग पाइराख्नुभएको छ ।’
जिल्लामा मल्चिङ प्रबिधिबाट आलुखेती गर्न सुरु भएपछि किसानको आकर्षण बढ्दोक्रममा रहेको उनले बताए । कृषि ज्ञान केन्द्र डडेल्धुरा कार्यालय प्रमुख रामचन्द्र भट्टले प्लाष्टिक टनेल भित्र तरकारी खेतीको कार्यक्रमम भएतापनि स्थानीय तहको सहकार्यमा व्यवसायिक किसानहरुलाई टनेल वितरण गर्ने कार्य भइरहेको बताए ।
२४ कात्तिक २०७८, बुधवार १५:३१ बजे प्रकाशित































