प्रथम प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधी डोटीले जित्यो
धनगढीमा जारी प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी डोटीले जितेको छ । शनिबार भएको फाइनल खेलमा डडेल्धुरालाई ३–० को सोझो सेटमा पराजित गर्दै डोटीले उपाधी चुमेको हो । पहिलो म्याच २५–२२ ले जितेको डोटीले दोश्रो म्याच सजिलै २५–१३ ले जितेको थियो ।
त्यस्तै अन्तिम म्याच १७–१७ को बराबरी पछि पनि डडेल्धुरा लयमा नफर्कदा डोटीले २५–२१ सजिलै उपाधी माथी कब्जा जमाउन सफल रह्यो ।उपाधिसंगै डोटीले नगद एक लाख र ट्रफी प्राप्त गरेको छ ।
त्यस्तै प्रतियोगिताको उपविजेता बनेको डडेल्धुराले नगद ५० हजार र ट्रफीमा चित्त बुझाएको छ । प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टीम कैलाली र कंचनपुरले पच्चिस÷पच्चिस हजार नगद सहित ट्रफी प्राप्त गरेका छन ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि सामाजिक विकासमन्त्री लाल बहादुर खड्काले बिजयी टिमलाई पुरस्कार तथा ट्रफी बितरण गरेका थिए ।प्रतियोगिता यहि असोज २०गतेदेखि २३ सम्म धनगढी स्थित रंगशालामा शुरु भएको थियो ।
२३ असोज २०७८, शनिवार १७:०४ बजे प्रकाशित































