दशैँको मुखमा रोजगारीका लागि मुग्लान पस्दै नेपाली
बैतडीको पाटन नगरपालिकाकाका पदमसिंह भाट मंगलबार गौरीफन्टा नाकामा हातमा नाबालक समातेर लाइनमा लागिरहेको अवस्थामा भेटिए । बालबच्चासहित उनी कामको खोजीमा भारत जान लाइनमा लागेको अवस्थामा भेटिएका हुन् । उनी परिवारसहित भारत गइरहेका थिए ।
अहिले कामको सिलसिलामा भारत गइरहेका नेपालीहरु दशैं मनाउन घर आउन लागिरहेका बेला उनी भने काम गर्न भारतको मद्रास जान लागेका हुन् । ‘मुखमा आएको दशैँ छोडेर अर्काको देश जान रहर कसलाई हुन्छ,’ पदमसिंहले भने, ‘परिवारको आर्थिक स्थिति कमजोर भएकै कारण देश छोडेर परदेश जानुपरेको छ ।’
उनीसंगै भारत जानेहरुको भिडमा उनका काका दिपकसिंह ढाट पनि थिए । ‘के गर्ने हजुर नेपालमा गरिखाने केही छैन,’ उनले दुखेसो पोख्दै भने, ‘घरपरिवार पालनपोषणका लागि भएपनि दशैँ छोडेर प्रदेशी हुनपरेको छ ।’
भारत जाने लाइनमै लागेका कञ्चनपुरको कृष्णपुरका गजेन्द्र कुँवरको दुखेसो पनि उस्तै छ । पहिले पनि भारतमा काम गर्न जाने÷आउने गरिरहेका कुँवर चार वर्ष यता भने घरमै थिए । तर यसपटक भने घरको आर्थिक स्थिति कमजोर भएपछि उनी महान पर्व दशैँलाई छोडेर गुग्लान पसेका हुन् ।
‘चार वर्ष यता भारत गएको थिएन,’ उनले भने, ‘अहिले कोरोना लगायतका कारण काम गरेर खाने वातावरणसमेत नभएपछि अहिले भारत नगई नहुने भयो ।’ उनी भारतको ब्यङ्लोर जान लागेका हुन् ।
त्यस्तै, गौरीफन्टा नाकामा चेकजाँच पछि भारतको दिल्ली जान बस चढ्दै थिए, बाजुराको बडिमालिका वडा नम्बर १ डम्बर भण्डारी । उनी पनि परिवारसहित भारत गइरहेका थिए । पहिले पनि भारतमै काम गर्दै आएका भण्डारी अहिले दशैँ दिल्लीमै मनाउने गरेर भारत हानिए ।
‘नेपाल आउँदा आफ्नो नौकरीमा मान्छे राखेर आएको थिएँ,’ उनले भने, ‘अहिले मान्छे छुट्ने भएपछि नौकरी जोगाउनका लागि भएपनि भारत जानुपर्ने भयो ।’
मुखैमा आउन लागेको नेपालीहरुको महान चाड दशैँ छोडेर उनीहरु मात्रै नभई गौरीफन्टा नाकाबाट अहिले दैनिक नेपाली नागरिक कामको खोजीमा भारत पस्न बाध्य छन् ।
दशैँ मनाउन भारतबाट नेपाल आउने र दशैँको मुखमा घरपरिवार छोडेर भारत जानेको संख्या करिब उस्तै छ । सीमामा भारतबाट आउने र नेपालबाट जाने नेपाली नागरिकको तथ्यांक राखिरहेको सशस्त्र प्रहरी बलको बीओपी डोकेबजारका अनुसार असोज १ गतेदेखि १२ गतेसम्म ३ हजार ८७८ नेपाली कामको खोजीमा सो नाका हुँदै भारत गएका छन् । यो अवधिमा पाँच हजार ७८० नेपाली भारतबाट नेपाल आएका छन् ।
तथ्यांकअनुसार दशैँ नजिँदै गर्दा भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने नेपालीहरुको संख्या क्रमशः बढ्दै गइरहेको छ । बीओपी डोकेबजारका बरिष्ठ हवल्दार भुपेन्द्र खत्रीले यस वर्ष भारत जाने नेपालीको संख्या विगतका भन्दा बढी रहेको बताए । उनले दशैँ मनाउने नेपालीहरु घर आइरहेका बेला कोही कामको खोजीमा भारत गइरहेको बताए ।
विश्वभर फैलिएको कोरोना भाइरस महामारीले गर्दा अर्थव्यवस्था असर परेसंगै आम नागरिकको आर्थिक अवस्थामा पनि गिरावट आएको छ । यसबाट निम्न बर्गीय परिवार बढी मारमा परेका छन् । जसले गर्दा रोजगारीका लागि देशर बाहिर नगएका व्यक्तिहरु पनि अहिले दशैँको मुखमा पनि विदेशिन बाध्य छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले काम खोज्दै भारत जानुपर्ने बाध्यताको अन्त्य गर्ने घोषणा गरेको भएपनि त्यसका लागि कुनै काम हुन सकेको छैन । सीमा नाकामा नेपाली नागरिक भारतमा कति जान्छन् र कति आउँछन् भनेर तथ्यांक राख्ने कामबाहेक अहिलेसम्म अरु हुन सकेको छैन ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्रीको सपथ खाँदै गर्दा सुदूरपश्चिममा बढी भन्दा बढी रोजगारी सृजना गरेर कामका लागि भारत जानुपर्ने अवस्थाको अन्त्य गर्ने घोषणानै गरेका थिए । तर मुख्यमन्त्रीले त्यसका लागि अहिलेसम्म सिन्कोसमेत नभाँचेको आरोप छ ।
१३ असोज २०७८, बुधवार १४:०९ बजे प्रकाशित






























