माओवादी केन्द्र सुदूरपश्चिममा अध्यक्ष बन्ने होडमा तीन नेता, कसले मार्ला बाजी ?

संगठन विस्तारको क्रममा रहेको नेकपा (माओवादी केन्द्र)ले सुदूरपश्चिममा पनि प्रदेश अध्यक्ष चयन गर्ने तयारी गरिरहेको छ । प्रदेश इन्चार्ज, सह–इन्चार्ज र समन्वय समिति विभागको संयोजक तोकिसकेपछि माओबादी केन्द्रले प्रदेश अध्यक्ष तोक्ने तयारी गरेको हो ।

असोज–कात्तिकभित्र जिल्ला अधिवेशन, मंसिर १५ गतेभित्र प्रदेश अधिवेशन र पुसको ११, १२ र १३ गतेभित्र राष्ट्रिय सम्मेलन गर्ने कार्यतालिका अनुसार माओवादी केन्द्र संगठन विस्तार तथा नेतृत्व चयनमा लागेको छ ।

इञ्चार्ज तथा सह–इञ्चार्ज तोकिए पनि सुदूरपश्चिममा माओवादीको अध्यक्ष र सचिवको हुने भन्ने टुंगो लाग्न सकेको छैन । प्रदेश अध्यक्षका लागि नेकपा छँदाका सचिव नेपबहादुर थारु (कैलाली), पूर्व खानेपानी मन्त्री बीना मगर (कञ्चनपुर) र नरेन्द्र कुँवर (बैतडी)को नाम चर्चामा छ । चौधरी तत्कालीन नेकपा सुदूरपश्चिमको सचिव थिए ।

प्रदेश अध्यक्षका लागि आफू योग्य रहेको नेता चौधरीको भनाई छ । उनले सचिवको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेकाले अध्यक्षको जिम्मेवारी सोपानको आधारमा स्वतः मैले नै पाउनुपर्ने उनी बताउँछन् ।

यता बैतडीमा पार्टी जिल्ला कमिटी इञ्जार्चको जिम्मेवारी पाइसकेका नरेन्द्र कुँवर प्रदेश अध्यक्षका लागि खास प्रतिस्पर्धा आफू र बीना मगरबीच भएको दाबी गर्छन् । नेपबहादुरजी हालको बहालवाला सचिव भएकाले उहाँको पनि दाबी रहेको उनी बताउँछन् ।

कुँवरलाई अध्यक्ष बनाउन अर्थमन्त्री जनार्दन शर्मा, प्रदेश इञ्चार्ज खगराज भट्टलगायत नेताहरूले लबिङ गरिरहेको बताइन्छ । यता नेपबहादुर थारुलाई भने ऊर्जामन्त्री पम्फा भुसाल, देव गुरुङलगायत नेताहरूको साथ छ ।

सुदूरपश्चिमबाट नेकपा माओवादी केन्द्रका १३ जना केन्द्रीय सदस्य छन् । १३ जना भित्रैबाट अन्य पदाधिकारीको पनि जिम्मेवारी तोकिने छ । भदौ महिनाभित्रै टुंगो लगाउने तयारी भएको बताइएको छ ।


२५ भदौ २०७८, शुक्रवार १४:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु