प्रधान सेनापति थापाको कति छ सम्पती?
प्रधान सेनापति पूर्णचन्द्र थापाले सैनिक सेवाबाट अवकाश हुन केही दिन बाँकी रहँदा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।थापाले वेबसाइटमा सार्वजनिक विवरणअनुसार लम्जुङ बेँसीशहर नगरपालिका–२ नरुवाल, पाखाथोक स्थायी ठेगाना भएका थापाको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा घरसहित ०–८–३–२ जग्गा पैत्रिक तथा बूढानीलकण्ठमा आफ्नो र श्रीमती दीपाको संयुक्त नाममा निर्माणाधीन घरसहितको २४१६ दशमलव ५२ वर्गमिटर जग्गा छ।
त्यसैगरी लम्जुङ बेँसीशहर–२ मा अंशवण्डावापत प्राप्त १२–०–२–२ क्षेत्रफल जग्गा, काठमाडौँ महानगरपालिका–२६ मा श्रीमतीलाई माइतीबाट प्राप्त दाइजो ०–२–०–२ जग्गा, नवलपरासीको मध्यविन्दु नगरपालिका–२ मा श्रीमती र आफ्नो संयुक्त नाममा शान्ति सेनाको कमाइबाट खरिद गरिएको ४१६४।५७ वर्गमिटर जग्गा तथा छोरी रुरु थापाको नाममा बेँसीशहर नपा–२ पैत्रिक १–०–१–३ क्षेत्रफल जग्गा रहेको थापाले बताएका छन्।
बूढानीलकण्ठमा रहेको जग्गामध्ये करिब ७०० वर्गमिटर जग्गा बिक्री प्रक्रियामा रहेको जानकारी उनले दिएका छन्।
महारथी थापा दम्पतीसँग पैत्रिक, खरिद र बुहारीबाट प्राप्तसमेत ६१ तोला सुन, ६८० तोला चाँदी र १४ लाखमा खरिद गरिएको औठीसहित हीराको हार पनि छ। थापा दम्पतीसँग घरभाडा, शान्ति सेना र सरकारी तलबभत्तासमेत गरी मेगा बैंकमा एक लाख ३५ हजार ७७२, ग्लोबल आइएमई बैंकमा ९९ हजार ३३, नेपाल इन्भेष्टमेन्ट बैंकमा २० लाख २२ हजार ३८१ र अमेरकी डलर छ हजार ७० छ।
प्रधानसेनापति थापा र उनकी पत्नी दीपासँग तलबभत्ता र विविध आयबाट खरिद गरिएको विभिन्न बैंक र हाइड्रोका समेत गरी १४ वटा कम्पनीका करिब ४६ लाख मूल्य बराबरका २० हजार ४४१ कित्ता सेयर रहेको सार्वजनिक गरिएको सम्पत्ति विवरणमा उल्लेख छ।
त्यसैगरी उनीहरुले नेपाल बैंकबाट एक करोड ९० लाख ऋण लिएको तथा छोरा रौनकले लक्ष्मी बैंकबाट अटोलोन ३० लाख लिएकोमा १२ लाख २४ हजार तिर्न बाँकी रहेको देखाइएको छ। श्रीमती दीपाको २० लाख र छोरा रौनकसँग ५१ लाख मूल्यमा खरिद गरिएका एक–एक थान सवारी साधन रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ।
प्रधानसेनापति थापाको अवकाशपछि कर्मचारी सञ्चयकोषबाट ३५ लाख ३७ हजार ६२८, नागरिक लगानी कोषबाट १४ लाख ६६ हजार ३१३, सञ्चित बिदा र औषधोपचारवापत प्राप्त हुने सञ्चित मौज्दात २५ लाख ९० हजार ७३२ तथा आवास र बिमावापत चार लाख ९७ हजार २७४ बचत मौज्दात रहेको पनि देखाइएको छ।
थापाले सेनाको नेतृत्व सम्हालेलगत्तै सम्पत्ति विवरण सार्वजनिक गरेका थिए। महारथी थापा नै सम्पत्ति विवरण सार्वजनिक गर्ने पहिलो सैनिक अधिकृत हुन्। तीनवर्षे प्रधानसेनापतिको कार्यकालसहित थापाले ४१ वर्ष आठ महिना २२ दिन सैनिक सेवामा बिताएका छन्। थापा आगामी बिहीबार सेवानिवृत्त हुँदैछन्। रासस
२२ भदौ २०७८, मंगलवार १०:१३ बजे प्रकाशित






























