प्रदेश सांसद सुबेदी एमालेमै, ‘पार्टी विभाजनको पक्षमा थिइनँ, हुनेछैन’
सुदूरपश्चिम प्रदेशका सांसद कृष्णराज सुबेदीले आफू एमालेमै रहेको बताएका छन् । काठमाडौंमा रहेका सांसद जोशीले आफू अहिले पनि एमालेमै रहेको स्पष्ट पारेका हुन् ।
यसअघि माधव पक्षमै रहेका सांसद सुबेदी सनाखत गर्ने समय आएपछि केपी शर्मा ओली नेतृत्वको एमालेमा खुलेका हुन् । उनले आफू विभाजनको पक्षमा कहिल्यै नरहेकाले नयाँ पार्टीमा नलागेको बताएका छन् ।
पूर्व सामाजिक विकास मन्त्रीसमेत रहेको सुबेदीले काठमाडौंमा एमाले उपाध्यक्ष भीम रावलसंग पनि भेटघाट गरेका छन् ।
सुदूरपश्चिम प्रदेशसभामा सभामुखसहित एमालेका २५ सांसद रहेका छन् । विगतमा सभामुखबाहेक माधव समूहमा १७ र ओली समूहमा सात जना थिए । नयाँ पार्टी दर्ता भएपछि यहाँको अंकगणित फेरबदल हुने सम्भावना बढ्दै गएको छ ।
सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था गरिएको छ ।
१५ भदौ २०७८, मंगलवार १५:२८ बजे प्रकाशित






























