धनगढीमा नेपाल प्राइड एण्ड गाइजात्रा मनाइयो

धनगढीमा १८ औं नेपाल प्राइड एण्ड गाइजात्रा मनाइएको छ । सुदूरपश्चिम समाज धनगढीको आयोजना निलहिरा समाज काठमाण्डौ र राईट हेर राईट नावको सहयोगमा सोमबार धनगढीमा प्राइड एण्ड गाइजात्रा मनाइएको हो ।

आफूमाथि हुदै आएको विभेद सरकारबाटै नरोकिएको तेस्रो लिङ्गीहरुले गुनासो गरेका छन् ।
कानुनले अन्यका नाममा तेस्रो लिङ्गीलाई छुट्याएको भएपनि सरकारी कोटामा आफूहरुलाई नसमेटेको उनीहरुको गुनासो छ ।

धनगढीमा आयोजित १८ औं नेपाल प्राइड एण्ड गाइजात्राको अन्र्तक्रिया कार्यक्रममा समाजबाट हेपिरहेको अवस्थामा सरकारबाट पनि हेपिएको सुदू्ररपश्चिम समाज धनगढीका कार्यक्रम संयोजक राजुलामाले बताए ।

उनले पछिल्लो समय नागरिकता भन्दा पनि नाम परिर्वतनमा बढी समस्या देखिएको बताए । सुदूरपश्चिममा मात्रै करिब पाँच हजार तेस्रो लिङ्गीहरु खुलेर आएका छन् । स्थानीय तहमा पनि तेस्रो लिङ्गीलाई नसमेटेको उनको गुनासो छ ।

तेस्रो लिङ्गीका लागि छुट्टै कोटा छुट्याएर आफूहरुको समस्या समाधान गर्नपर्ने सुदूरपश्चिम समाजकी उपाध्यक्ष करुणा नेपालले बताइन् । तेस्रो लिङ्गीले नागरिकता नपाउँदा सम्पूर्ण सेवा सुविधाबाट बञ्चित हुनुपरेको उनको भनाई छ ।

तेस्रो लिङ्गीलाई पहिचान अनुसार नागरिकता दिनुपर्ने उनको माग छ । साथै प्रदेश तथा स्थानीय तहले बनाउने कानुनमा तेस्रो लिङ्गीका अधिकारहरु समेटिनुपर्ने निल हिरा समाज काठमाण्डौकी कार्यक्रम अधिकृत ऐनजल लामाले बताइन् । उनले पहिले भन्दा अहिले केही भएपनि सहज भएको बताइन् । ‘घर परिवार तथा समाजका मानिसहरुले के भन्छन् भन्ने सोचले अझै धेरै जना समाजमा खुल्न सकिरहेका छ्रैनन्,’ उनले भनिन् ।

खुलेर आएकाहरुलाई पनि नागरिकता प्राप्त गर्न, बिवाह दर्तादेखि अन्य प्रक्रियाहरुमा असहज भइरहेको उनको भनाई छ ।कार्यक्रममा स्वास्थ्य कार्यलय कैलालीका प्रमुख लालबहादुर धामीले तेस्रो लिङ्गीहरुका लागि पनि कोरानाविरुद्धको खोप दिन प्राथमिकता दिइएको बताए । उनले कसैलाई पनि खोप लगाउनबाट बञ्चित नगरिने बताए ।

धनगढी उपमहानगरपालीका सामाजिक विकाश शाखा प्रमुख टंकबहादुर बिष्टले धनगढी उपमहानगरपालिकामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका मानिसहरुको यकिन तथ्यांक नभएको बताए । उनले स्थानीय तहले पनि उक्त समुदायका लागि आर्थिक र सामाजिक तवरले मिलेर काम गर्नपर्ने बताए ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले हरेक बर्ष गाईजात्रा पर्व मनाउने गर्दछ । विगत लामो समयदेखि निलहिरा समाजको आयोजनामा काठमाडौंमा मनाइँदै आइएको कार्यक्रम गत वर्षदखि फैलिएको कोभिड–१९ को कारण यस वर्ष विभिन्न जिल्लामा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गरी मनाइएको छ ।

८ औं नेपाल प्राइड एण्ड गाइजात्रा यस बर्ष बिभीन्न जिल्लामा मनाइएको छ । निलहिरा समाजले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकारका लागि वकालत गर्दै आएको छ । कार्यक्रममा स्थानीय तह, संघ–संस्था तथा प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।


७ भदौ २०७८, सोमवार १९:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु