सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा , नयाँ मुख्यमन्त्रीमा नेकपा भट्टको दावी

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो पदबाट राजीनामा दिएका छन्। हिजो (बिहीबार) प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले पदत्यागको घोषणा गरेका थिए। प्रदेश सभा बैठकलाई सम्बोधन गरे लगत्तै उनले प्रदेश प्रमुख कार्यालय पुगेर राजीनामा दिएका हुन् ।

सत्ता साझेदार दल नेकपा (एमाले) ले असार ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए। सत्ता गठबन्धनमा आएको फेरबदलका कारण शाह नेतृत्वको सरकारले पेस गरेको चालु आर्थिक वर्षको बजेटसमेत प्रदेशसभाबाट पारित हुन सकेको थिएन। बजेट पारित हुन नसक्दा हाल सुदूरपश्चिम प्रदेश बजेट शून्यता (बजेट होलिडे) को जटिल अवस्थाबाट गुज्रिरहेको छ।

शाह २०८१ साउन २० गते दोस्रो पटक सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

नयाँ सरकार गठनको गृहकार्य तीव्र, खगराज भट्ट बन्दै मुख्यमन्त्री

मुख्यमन्त्री शाहले राजीनामा दिए सँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको बाटो खुलेको छ। नेपाली कांग्रेससँगको सहकार्य तोडेर एमालेले नयाँ गठबन्धन बनाएपछि अब सुदूरपश्चिममा नेकपाको नेतृत्वमा सरकार बनाउने तयारी थालिएको छ।

सहमति अनुसार वर्तमान प्रदेशसभा कार्यकालको पाँचौँ मुख्यमन्त्रीका रूपमा नेकपा संसदीय दलका नेता खगराज आज (शुक्रबार) भट्टले दाबी पेस गर्ने तयारी गरेका छन्। उनलाई एमालेको समर्थन रहेको छ । भट्ट आजै मुख्यमन्त्रीमा नियुक्त हुनेछन् ।


२९ साउन २०८३, शुक्रवार ०९:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु