चमेलिया किनारमा बर्खाभर त्रास
‘नदीको सतह बढ्दा कहिलेकाहीँ आँगनको डिलसम्म पानी पुग्छ’
वर्षात् सुरु भएदेखि दार्चुलाको चौलानी (चमेलिया) नदी किनारका बासिन्दामा बाढीको त्रास बढ्छ । चौलानी नदी वारिपारि बसोबास गर्ने स्थानीय पानीको बहाव बढ्न थालेपछि बाढीको त्रासले सताउने गरेको बताउँछन् । चौलानी किनारमा दार्चुलाभन्दा बैतडीतिर बाढीको बढी जोखिम छ ।
बैतडीको डिलासैनी गाउँपालिका–५ हरिनगर बजार र त्यससँग जोडिएको बस्ती चौलानी नदीको बाढीको उच्च जोखिममा छ । चौलानी किनारको दार्चुलातर्फ सानो तटबन्ध भए पनि निर्माण भइरहेको छ ।
बैतडीतर्फ तटबन्ध निर्माणको कार्यक्रम नहुँदा हरिनगर बजार बढी जोखिममा रहेको स्थानीय सुरेश श्रेष्ठले बताए । ‘नदी छेउमै घर छन्, नदीको सतह बढ्दा कहिलेकाही आँगनको डिलसम्म पानी पुग्छ,’ श्रेष्ठले भने, ‘घर बगाउने चिन्ताले राति नदी हेरी सुत्ने गरेका छौं ।’ यो समस्या वर्षौंदेखि भोग्दै आएको उनले बताए ।
राति पटक–पटक उठेर नदी हेरेर सुत्नुपर्छ । घर जोखिममा रहेको समस्या विगतदेखि नै दर्साउँदै आए पनि अहिलेसम्म कसैले नसुनेको उनले गुनासो गरे । ‘बस्ती र बजारको दायाँतिर मङरौ खोलाको जोखिम छ । घर अगाडि चौलानीले कटान गरेर आँगनमै नदी बग्छ’ श्रेष्ठले भने, ‘मङ्रौ खोला धेरै माथिबाट बग्ने हुँदा पानी परेको दिन ठूलो भल आउँछ ।
चौलानी त डरलाग्दो गरी उर्लिन्छ ।’ उनका अनुसार स्थानीवासीले आफ्ना समस्याबारे जिल्लाका ठूला नेता तथा स्थानीय तहलाई बस्ती जोगाउनका लागि तटबन्ध निर्माण गरिदिन धेरै पटक आग्रह गरेका हुन् । तर कसैले वास्ता नै नगरेको उनी बताउँछन् ।
नदी किनारमै घर बनाउँदा बाढीको जोखिम बढ्न थालेपछि स्थानीय त्रसित छन् । दुईरतीन दिनयता निरन्तर वर्षा भइरहँदा नदीमा पानीको सतह बढेकोले बाढी बस्तीतिर पस्ने त्रासले चिन्ता बढाएको स्थानीय रञ्जित गिरीले बताए । चौलानी किनारमा धेरै परिवार बाढीको उच्च जोखिम छन् । सबैभन्दा बढी जोखिममा बादी समुदायका स्थानीय बाढी पसेर उठिवास हुने चिन्तामा छन ।
उनीहरू बर्षायाममा चौलानीमा पानीको सतह बढ्ने थालेपछि चिन्तै चिन्तामा रात काटने गरेको दुखेसो पोख्ने गर्छन । चौलानी किनारमा वर्षौंदेखि बादी समुदाय घरवास गरि बस्दै आए पनि गोकुलेश्वरमा बजार विस्तारसँगै यो समुदायका मानिसहरू पनि नदी किनारमै घर बनाएर बसिरहेका छन् ।
वर्षायाममा चौलानीले ढुंगा बगाएर ल्याउने हुँदा पहिरो खसे जस्तै आवाज आउदा रातिको समयमा डर लाग्ने चौलानी किनारमै घर बनाई बसेका बैतडी डिलाशैनी–१ धौकुच्चेका रामलाल बोहराले बताए । ‘पारि दार्चुलातर्फ रहेको कडा चट्टानले नदीको बहावयता धकेलेपछि बाढीको जोखिम बढेको छ,’ उनले भने । सामान्य अवस्थामा धेरै डर नभए पनि पछिल्लो समयमा चमेलिया जल विद्युत आयोजनाको ड्यामका कारण बाढीको जोखिम बढाएको उनी बताउँछन् । ड्याममा पानी जम्मा हुने र माथिल्लो क्षेत्रमा बाढी आए त्यसले खतरा निम्त्याउने उनको भनाइ छ ।
हिउँदमा अढाइ मिटर बहाव रहने चमेलिया नदी बर्खामा धेरै बढ्छ । बर्खामा चौलानी नदी ६ मिटरसम्म गहिरो बन्ने वर्षामापन केन्द्रको तथ्यांकमा छ । नदीको वारिपारि दुवैतर्फ कुनै ठाउँमा तटबन्ध नहुँदा बर्खामा बाढीको त्रास भोग्दै आएको यहाँका स्थानीयले बताएका छन् ।
चमेलिया नदी किनारको तटीय क्षेत्रका दार्चुलाका लटिनाथ, शेरी, परपडा, लामबगड, चिउरानी, नलबगड, बिटुले, बारिलबवगड, बलाच, दहखाली, छोला, मकन्ना, देथला, कुकुडेपानी, लुइटा, ओसल, नाइल, गाजरी, कड्पते, गोकुलेश्वर, जगतपुरी र बसकोट बस्ती बाढीको जोखिममा रहेका छन् ।
त्यस्तै, बैतडीका बांगाबगड, श्रीसानी, पौसेरा, डडिया, देउझाडी, सेरा, चौसेरा, कर्कले, गिरीबगड, बगडी, धौकुच्चे, सिमार, छेपट्टा, गन्नालगायतका बस्तीहरू नदीको जोखिममा छन् । यीमध्ये दार्चुला र बैतडीका करिब एक दर्जन बस्तीहरू उच्च जोखिममा रहेको हुनाले यहाँका स्थानीयलाई वर्षात्मा बाढीको त्रास सधै आइरहने बलाचका स्थानीय धनबहादुर खडायतले बताए ।
चौलानीमा मिसिने खोलाले करिब २ सय रोपनी खेत बगरमा परिणत गरेको छ । खहरे खोलामा आएको बाढीले खानेपानीका मुहान, पाइप तथा धारासमेत बगाई दिँदा खानेपानीको समस्या भएको उनले बताए ।
पहाडी क्षेत्र भएकाले माथिल्लो क्षेत्रमा बाढीको पूर्वसूचना संयन्त्र स्थापना गर्न सकिएको छैन । बाढी आउनुपूर्व स्थानीयलाई सूचना प्रवाह गर्न सके बाढीको जोखिमबाट बच्न सकिने स्थानीय व्यापारी देवदत्त विष्टको भनाइ छ । स्थानीय तहले पनि जोखिमयुक्त ठाउँमा घर नबनाउने सल्लाह दिनुपर्ने भए पनि बर्सेनि बनाउने क्रम रोकिएको छैन ।
२ भदौ २०७८, बुधवार १३:१४ बजे प्रकाशित































