दार्चुला घटनामा भारतीय पक्षको संलग्नता देखिएको छानबिन समितिको निचोड
दार्चुलाको तुइन घटनामा भारतीय पक्षको संलग्नता देखिएको छानबिन समितिको निचोड निकालेको छ । भारतीय पक्षले तुइनको लट्ठा खुस्काइदिएकाले व्यास गाउँपालिका–२, मालगाउँका ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको निष्कर्ष निकालेको छ ।
घटनाको छानबिनका लागि गठित सरकारी समितिले करिब दुई साताको छानबिनपछि समिति प्रतिवेदन लेखनमा जुटेको छ । मालघाट–गस्कु जोड्ने तुइन तरेर धामी पारि जान लाग्दा गत साउन १५ मा भारतीय सशस्त्र सीमा बल ९एसएसबी० ले लट्ठा खुस्काइदिएको थियो ।
गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजक रहेको छानबिन समितिले घटनाको स्थलगत निरीक्षण, अवलोकन, अनुसन्धान र प्रत्यक्षदर्शीसँगको सोधपुछ एवं बयानका आधारमा भारतीय पक्षले तुइनको लट्ठा खुस्काएकै कारण नदीमा खसेर बेपत्ता भएको निष्कर्ष निकालेको हो । यस्ता घटना दोहोरिन नदिन तुइन विस्थापन तथा पक्की पुल बनाएर आउजाउ सहज बनाउने, नेपालतर्फको भूभागबाटै सहज बाटो निर्माण गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा समेट्न लागिएको छ ।
छानबिन समितिले यसलाई नै प्रमुख आधार बनाएर सरकारलाई रायसुझाव सहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ । घटना हुँदा मालघाटमै रहेका नेपाली प्रत्यक्षदर्शीहरूले एसएसबीका जवानले तुइनको लट्ठा काटेपछि धामी भेलमा खसेको बताएका थिए । धामी बेपत्ता भएको पर्सिपल्ट साउन १७ मा सहसचिव गौतमको संयोजकत्वमा नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सम्मिलित पाँच सदस्यीय समिति गठन गरी १० दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको थियो ।
सहसचिव गौतम नेतृत्वको सुरक्षा टोली साउन १९ बाटै दार्चुला सदरमुकाम खलंगालाई मुकाम बनाएर अनुसन्धानमा जुटेको थियो । त्यही क्रममा धामीको खोजीमा प्रहरी प्रधान कार्यालयबाट ड्रोनसहितको प्राविधिक टोली घटनास्थल पुग्यो । टोलीलाई महाकाली नदीको दुवै देशका किनाराबाट ड्रोनसहित खोजबिनमा परिचालन गर्ने योजना भारतीय असहयोगकै कारण पूरा हुन भने पाएन ।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीका अनुसार साउन २३ मा महाकाली नदीपारि किनारैकिनार ड्रोन उडाउन पिथौरागढस्थित जिल्लाधिकारीलाई पठाइएको पत्रको जवाफ अहिलेसम्म आएको छैन । समिति संयोजक गौतम केही दिनअघि दार्चुलाबाट स्थलगत निरीक्षण एवं प्रमाण संकलन गरी काठमाडौं फर्किसकेका छन् ।
समितिका अन्य सदस्यहरू पनि केही दिनभित्रै काठमाडौं आउने तयारीमा रहेको जनाएको छ । सुरुको १० दिन र त्यसपछि थप गरिएको एक साताको समय अपुग भएर प्रतिवेदन बुझाउने समय पुनस् एक साता थप गरिएको छ । गृहमन्त्री बालकृष्ण खाँणले बुधबारबाट लागू हुने गरी समितिको म्याद दोस्रो पटक एक साता थपेका हुन् ।
साउन १५ गते व्यास गाउँपालिका–२, मालघाटमा स्थानीय ३३ वर्षीय जयसिंह धामी भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाने क्रममा तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले तुइनको डोरी काटिदिएपछि महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन् ।तुइनबाट खसेर बेपत्ता भएका धामी अझै भेटिएका छैनन् ।
२ भदौ २०७८, बुधवार १३:०९ बजे प्रकाशित































