punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अस्तव्यस्त काबुल विमानस्थल : विमानमै झुण्डिन्छन् मानिस

Chaupati
safha napa

आइतबार अफगानिस्तानको राजधानी सहर काबुललाई तालिबानले आफ्नो कब्जामा लियो ।मुलुकका अधिकांश स्थानलाई आफ्नो कब्जामा लिइसकेको तालिबानले काबुल पनि कब्जामा लिएपछि आत्तिएका धेरै मानिस छिटो भन्दा छिटो अफगानिस्तान छाड्न चाहिरहेका छन् । त्यसको झल्को सोमबार हामिद कारजाई विमानस्थलमा देखिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार हजारौं अफगानी नागरिक मुलुक छाड्नको लागि विमानस्थल पुगेका छन् । यद्यपि सोमबार अमेरिकी सेनाले विमानस्थललाई नियन्त्रणमा लिँदै सबै व्यवसायिक उडान रद्द गरेको छ । अहिले हामिद कारजाई विमानस्थलबाट केवल सैन्य उडान मात्र भइरहेको छ ।

सामाजिक सञ्जाल ट्वीटरमा शेयर गरिएको भिडियोमा ठूलो संख्यामा मानिसहरु विमानस्थलमा भेला भएको देख्न सकिन्छ । मानिसहरु विमानतर्फ दौडिरहेको देखिन्छ । यहाँ न कुनै नियम छ न कुनै कार्यान्वयन गराउने निकाय देखिन्छ, केवल मानिसहरु मात्र एकोहोरो दौडिरहेका छन् ।

यतिमात्र होइन, मानिसहरु उड्न लागेको विमानमा पनि झुण्डिरहेका छन् । त्यस्तै उड्नको लागि रनवेमा गुडिरहेको विमानलाई पनि मानिसहरुले घेरिरहेका छन् ।

‘भिसा वा पासपोर्ट छैन भने कसैले पनि यो मुलुक छाड्न सक्दैनन्, अधिकांश अफगानीसँग यो छैन, त्यसैले उनीहरु मुलुकबाहिर जान सक्दैनन्’, मासुद फाउन्डेसनका वरिष्ठ सल्लाहकार कमल आलमले सञ्चार संस्था सीएनबीसीसँगको कुराकानीमा भनेका छन् । उनी पनि अहिले अफगानिस्तानमा फसेका छन् । सोमबार उनको विमानको उडान पनि रद्द भयो ।

पछिल्लो केही दिनमा तालिबानले आफ्नो कब्जा बढाएसँगै अफगानिस्तानबाट बाहिरिने र सरकारप्रति आक्रोशित हुनेको संख्या बढेको आलम बताउँछन् । उनी केही दिनदेखि हामिद कारजाइ विमानस्थलमा छन् ।

‘भीआईपीलाई सबैभन्दा पहिला बाहिर उड्नलाई अनुमति दिइएको छ । उनीहरुले दिएको मोटो रकमको कारण व्यावसायिक उडान र निजी उडानले उनीहरुलाई प्राथमिकता दिँदै आएका छन्’ आलमले भनेका छन् । उनका अनुसार धेरैजसो मानिस खाडी मुलुकतर्फ उडेका छन् । यद्यपि उनले मुलुकको नाम भने खुलाएका छैनन् ।

सामाजिक सञ्जालमा शेयर गरिएको अर्को भिडियोमा मानिसहरु विमानमा चढ्नको लागि तँछाडमछाड गरिरहेको देखिन्छ ।

मानिसहरुमा निरन्तर सन्त्रास फैलिरहेको र करिब ६ हजार अमेरिकी सेना पश्चिमा मुलुकका कूटनीतिक अधिकारीलाई उद्धार गर्न अफगानिस्तान आइपुगेका छन् । सोमबार अमेरिकी विदेशमन्त्रालयले दूतावासका सबै कर्मचारीलाई सुरक्षितरुपमा उद्धार गरिएको बताएको छ ।

आइतबारसम्ममा अफगानिस्तानका प्रमुख सहरमध्ये काबुलमात्र तालिबानको नियन्त्रणमा थिएन । तर, यो सहर पनि तालिबानको नियन्त्रणमा आएपछि मानिसहरु अत्तालिएर मुलुक छाड्न तँछाडमछाड गरिरहेका हुन् ।

तालिबानका प्रवक्ताले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुने बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले सबै सैनिक फिर्ता गर्ने म्याद सेप्टेम्बर ११ लाई तोकेका थिए । तर, त्यो समय नआउँदै तालिबानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको हो ।

यति छिटो अफगानी सेना र सरकार तालिबानसामु घुँडा टेक्नुले समग्र विश्वलाई नै चकित पारेको छ । यस्तोमा दुई दशकसम्म अमेरिकालगायतका मुलुकको तालिम पाएको अफगानी सेना कसरी कमजोर बन्यो भन्ने प्रश्न उठेको छ ।

एजेन्सीहरुको सहयोगमा


३२ साउन २०७८, सोमवार १९:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु