आधा किलो सुनसहित कैलालीबाट तीन जना पक्राउ
आधा किलो अबैध सुनसहित कैलालीबाट तीन जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, अपराध अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय मालाखेतीको सयुक्त टोलीले तीन जनालाई ४४९.७७ ग्राम सुनसहित पक्राउ गरेको हो।
पक्राउ परेका तीनै जनालाई कैलाली प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले शैलेश्वरी सुनचाँदी पसल अत्तरियाका सञ्चालक समिर सिजापती, सोही सुनचाँदी पसलमा कार्यरत सुनसरीका राजु बिक र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का भवानी घिमिरेलाई पक्राउ गरिएको जानकारी दिए।
काठमाडौबाट अत्तरिया हुँदै महेन्द्रनगरतर्फ जाँदै गरेको ना८ख ८३४९ नम्बरको महाकाली यातायातको बसलाई चेकजाँच गर्दा बसका कण्डक्टर घिमिरेको साथबाट ४९.९५ ग्राम अबैध सुनको बाला र नगद २६ हजार बरामद गरिएपछि अन्त्य दुई जना पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
उनका अनुसार सोही बसमै सवार राजु बिकको साथबाट सुनको बाला र सिक्री गरी जम्मा ३४९.८७ ग्राम अवैध सुन बरामद गरिएको हो। उनको साथबाट नगद ६ हजार ९ सय बरामद गरिएको छ।
उनीहरुसँग सोधपुछ गर्ने क्रममा सुन अत्तरियाका व्यवसायी समिर सिजापतीको खुलेपछि सिजापतीलाई पनि पक्राउ गरिएको हो। सिजापतीको खानतलासी गर्दा उनको साथबाट ४९.९५ ग्राम अवैध सुनको बाला र १६ हजार तीन सय नगद बरामद भएको प्रहरीले जनाएको छ।
भवानी घिमिरे र समिर सिजापतीको साथमा कतार दोहाको बिल रहेको तर किन्ने व्यक्तिको बिबरण फरक रहेको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट ४९ हजार बढी नगद र ५ थान मोबाइल पनि बरामद गरिएको छ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, कोहलपुर पठाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
२७ साउन २०७८, बुधवार १८:३९ बजे प्रकाशित













