दोधारा र भीमदत्तका दुई गाउँ डुवानमा
कञ्चनपुर :केही दिनदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गएको छ । दार्चुलाको लिम्पियाधुरादेखि हिमाल, पहाड, चुरे भावर भएर कञ्चनपुरको तटीय क्षेत्रमा बग्ने महाकाली नदीमा पानीको सतह बढेसँगै आसपासका खोलानाला र निर्माणाधिन चार लेनको पक्की पुलका संरचनामा समेत क्षति पुर्याएको छ ।
महाकाली नदीमा पानीको बहाव बढेसँगै भीमदत्त नगरपालिका १२ ऐरी स्थित नदी थुनिएर १० -१२ घर डुवानमा परेको भीमदत्त नगरपालिका १३का वडाध्यक्ष लाल बहादुर शाहीले बताए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमर बहादुर थापाले बिहानको तुलनामा दिउँसो महाकाली नदीमा बहाव बढ्दै गएको बताए । उनका अनुसार बिहान एक लाख ७५ हजार क्यूसेक पानी रहेको महामालीमा दिउँसो बढेर १ लाख ७५ हजार पुगेको छ । बाढि जोखिमयुक्त क्षेत्रमा प्रहरी टोली तयारी अवस्थामा रहेको उनले बताए ।
नदीमा पानीको बहाव बढेसँगै निर्माणाधिन चारलेनको महाकाली पुलको संरचना भत्काएको छ ।दोधाराका स्थानीय संचारकर्मी खडक रावलले नदीको सतह बढेसँगै पक्की पुल जोड्ने सडक भत्काएको बताए ।
५ असार २०७८, शनिवार १३:५६ बजे प्रकाशित






























