कञ्चनपुरमा हुलाकी सडक निर्माणमा भारतीय पक्षको अवरोध
कञ्चनपुर । भारतीय एसएसबीको अवरोधका कारण कञ्चनपुरमा झण्डै डेढ वर्षदेखि हुलाकी सडक निर्माणको काम प्रभावित भएको छ । २०७३ सालदेखि निर्माण कार्य थालिएको पुनर्वास नगरपालिकाको मोहनापुलदेखि वेदकोट नगरपालिकाको दैजीसम्मको ६२ किलोमिटर खण्डमध्ये बेलौरी क्षेत्रमा भारतीय एसएसबीको अवरोधका कारण काम रोकिएको हो । स्थानीय प्रशासनबाट समस्या समाधानको लागि गरेको पहल सफल नभएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले कागजात मागेको छ ।
बेलौरी नगरपालिका-८ को खप्टी नाला क्षेत्रको साढे एक किलोमिटर सडक खण्डमा डेढ वर्षदेखि एसएसबीको अवरोधका कारण काम गर्न नसकिएको हुलाकी सडक योजना कार्यालय धनगढीले जनाएको छ । हुलाकी सडक योजना कार्यालयका इन्जिनियर पदमबहादुर मडैले एसएसबीले उक्त भूमि भारतमा पर्ने भन्दै काममा अवरोध सिर्जना गर्दा डेढ वर्षदेखि निर्माण कार्य अगाडि बढाउन नसकिएको बताए ।
हुलाकी सडक योजना कार्यालयका अनुसार कुल ६२ किलोमिटर खण्डमध्ये ३२ किलोमिटर कालोपत्रे भइसकेको छ भने विवादित क्षेत्रको डेढ किलोमिटर छोडेर २८.५ किलोमिटर सडक कालोपत्रे हुने क्रममा छ । सडक निर्माणको ठेक्का अवधी समाप्त भएकाले थप गरिने योजना कार्यालयको भनाइ छ ।
२२ जेठ २०७८, शनिवार १०:२८ बजे प्रकाशित






























