कोरोनाबाट दाङका पत्रकार बस्नेतको निधन, दुई दिनअघि बुवाले गुमाएका थिए ज्यान
कोरोना संक्रमणबाट दाङमा थप एक जना पत्रकारको ज्यान गएको छ । जिल्लाको बबई गाउँपालिका वडा नं ४ का लक्ष्मण बस्नेतको निधन भएको छ ।
पत्रकार महासङ्घ दाङका सदस्य समेत रहेका उनको भैरहवा युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा आज अपराह्न निधन भएको हो ।
रेडियो हापुरेमा कार्यरत उनले गत हप्तामात्र कोरोनालाई पराजित गरेको स्टेशन म्यानेजर प्रेमबहादुर राम्जाले जानकारी दिए ।
जिल्लामा हालसम्म कोरोनाबाट दुई पत्रकारको निधन भैसकेको छ । यस अघि पत्रकार दामोदर अधिकारीको कोरोनाकै कारण निधन भएको थियो ।
३२ वर्षीय पत्रकार बस्नेतको निधनप्रति नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले शोक वक्तव्य जारी गरि दुस्ख व्यक्त गरेको छ।
पत्रकार बस्नेतको निधनले लुम्बिनी प्रदेशले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको महसुस भएको महासंघले जनाएको छ। प्रदेश महासचिव विक्रम खड्काले शोक वक्तव्य जारी गरि स्वर्गीय पत्रकार बस्नेतप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
एक दिनअघि मात्रै पनि पत्रकार बस्नेतका पिताको सोही अस्पतालमा कोरोना संक्रमणकै कारण निधन भएको थियो । पत्रकार बस्नेतका पत्नी, एक छोरा र एक छोरी छन्।
जिल्लामा हालसम्म कोरोनाबाट दुई पत्रकारको निधन भैसकेको छ । यस अघि पत्रकार दामोदर अधिकारीको कोरोनाकै कारण निधन भएको थियो ।
कोरोनाकै कारण लुम्बिनी प्रदेशमा तीन पत्रकारको निधन भएको छ भने एक सयभन्दा बढी पत्रकार संक्रमित भएका छन्।
३ जेठ २०७८, सोमवार १८:५३ बजे प्रकाशित






























