सशस्त्र प्रहरीको १९औँ बिओपी उद्घाटन
कञ्चनपुरको दोधरा चाँदनी नगरपालिकाको पशुपति टोलमा सशस्त्र प्रहरीको १९औँ बोर्डर आउट पोष्ट (बिओपी) को उद्घाटन गरिएको छ।
मंगलबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ वाहिनी मुख्यालय कैलालीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठले सो पोष्टको उद्घाटन गर्दै नेपाली भूमिमा खुला सिमानाका कारण हुने अवैध चोरीतस्करी नियन्त्रणमा यसले सघाउ पुग्ने विश्वास व्यक्त गरे।
चेलीबेटी बेचबिखन, लागुऔषध ओसारपसार, हातहतियार ओसारपसार, लुटपाट, सीमा अतिक्रमण, सङ्गठित सीमा अपराध तथा सीमा विवादजस्ता गहन समस्याहरू समाधान गर्नका लागि सशस्त्र प्रहरीले चौबिसै घण्टा खटिने उनले बताए।
जस्ताले छाएका दुईवटा टहरा, ब्यारेक, अफिस ब्लक, भान्साघर, शौचालय र ११ वटा डिउटी पोष्ट सहितको बिओपी निर्माण गरिएको छ।
बिओपीको जिम्मेवारी क्षेत्र सीमा स्तम्भ नम्बर ८०३ देखि मुख्य सीमा स्तम्भ नम्बर २०५ सम्मको करीब सात किलोमिटर रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए।
दोधारा चाँदनी नगरपालिका–१ र भीमदत्त नगरपालिका–१२ भुजेलासम्म उद्घाटन गरिएको बिओपीको इलाका विभाजन गरिएको उनले जानकारी गराए । आगामी दिनमा थप बिओपीहरू क्रमिकरूपमा थप्दै लैजाने योजना रहेको उनले बताए।
कञ्चनपुरमा १२९ दशमलव पाँच किलोमिटर नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीका १९ वटा बिओपी स्थापना गरिएका छन्। २५ वटा बिओपी स्थापना गर्ने लक्ष्य रहेको छ। छवटा बिओपीको स्थायी भवनका लागि बोलपत्र प्रक्रिया अगाडि बढेको बताइएको छ।
१५ वैशाख २०७८, बुधवार ०८:१७ बजे प्रकाशित













