नेतुवा ताललाई वाटरपार्क बनाउने योजना तयार, मन्दिर निर्माणदेखि बोटिङको व्यवस्था
धनगढी उप–महानगरपालिका वडा नं. ३ मा रहेको नेतुवा ताललाई वाटरपार्क बनाउनका लागि विस्तृत योजना तयार गरिएको छ । धनगढी उप–महानगरपालिकाले तयार गरेको नेतुवाताल बाटर पार्कको बिस्तृत योजनामाथि सुझाव संकलन गरेको हो ।
नेतुवा ताल ६४ कठ्ठामा रहेको छ । नेतुवाताल बाटर पार्क निर्माणका लागि २० करोडको लागत लाग्ने बिस्तृत योजनामा उल्लेख गरिएको छ । तालको एकातर्फ २ मिटरको फुटपाथ र अर्कोतर्फ ६ मिटरको सडक तयार गरिने योजना रहेको छ ।
‘नेतुवाताल वाटरपार्कमा बगैचा, मन्दिर, सभाहल निर्माण गरिने छ धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले भने, ‘तीन मिटर गहिराईमा रहने तालमा बोटिङ्ग समेत चलाउन सकिने छ ।’

नेतुवाल तालमा धनगढी उप–महानगरपालिका वडा नं ३ मा रहेको बर्षातको पानी झार्ने तथा त्यहाँको पानी मोहना नदीमा फाल्ने गुरु योजना तयार गरिएको नगरप्रमुख वडले बताए । नेतुवाताल पाटरपार्क योजना नगरको प्राथमिकताको योजना रहेको पनि नगरप्रमुख वडले बताए ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले नेतुवा तालको ब्यवस्थापन भएमा वडा नं. ३ मा हाल भैरहेको डुवान घटाउन सकिने बताइन् । उनले बिस्तृत योजना अनुसार काम पनि चाँडै सुरु गरिने बताइन् ।
धनगढी उप–महानगरपालिकाका डिभिजनल ईन्जिनियर डिजराज भट्टले केहि दिन भित्रै बिस्तृत योजना अन्तरगत टेन्डर निकाल्ने तयारीमा उप–महानगरपालिका रहेको बताए ।
९ वैशाख २०७८, बिहीवार १८:५५ बजे प्रकाशित






























