पदमुक्त भएका गृहमन्त्रीको स्थानमा ३५ दिनभित्रै उप – निर्वाचन गर्नुपर्ने
नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएका रामबहादुर थापा बादल आइतबार पदमुक्त भएका छन्। पदमुक्त भएसंगै उनको स्थानमा अब ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने भएको छ।
राष्ट्रियसभा निर्वाचन ऐन, २०७५ मा रिक्त स्थानमा ३५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ। ऐनको दफा ६१ मा भनिएको छ । कुनै सदस्यको पदावधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद यो ऐन बमोजिम बाँकी अवधिको लागि उपनिर्वाचनद्वारा दफा ३ बमोजिम पूर्ति गर्नेछ।
बादल बागमती प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका थिए। २०७५ असार ४ गते भएको गोलाप्रथामार्फत् उनले आफ्नो पदावधि छ वर्षका लागि कायम गराएका थिए।
राष्ट्रियसभामा माओवादी केन्द्रका दलका नेता दिनानाथ शर्माले संसद्का अनुसार बादलको सांसद पद आइतबारदेखि सकिएको छ। बादलले दल त्याग गरेको सूचना गत चैत २७ गते सचिवालयमा जानकारी दिएको छ । आइतबार संघीय संसद्का महासचिव भरतराज गौतमले सूचना प्रकाशित गरी थापाको पद रिक्त भएको जानकारी गराए।
फागुन २३ गतेको सर्वोच्चको फैसलामार्फत तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता भंग भई एमाले र माओवादी केन्द्र ब्युँतिएपछि बादल नेकपा एमाले प्रवेश गरेका हुन। बादललाई माओवादी केन्द्रले स्पष्टीकरण सोधे पनि जवाफ दिएका थिएनन्।
५ वैशाख २०७८, आइतवार १३:१० बजे प्रकाशित












