सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक बन्यो कैलाली अस्पताल
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा आगामी चैत्र ६ गते हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक धनगढीको कैलाली अस्पताल भएको छ । खेलकुख पत्रकार मञ्च र कैलाली अस्पताल प्रालिबीच सोमबार मुख्य प्रायोजकको रुपमा सम्झौता भएको हो ।
कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशी र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाबीच मुख्य प्रायोजन सम्बन्धमा सम्झौता भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । अब दोस्रो पटक सुदूरपश्चिममा हुन लागेको अवार्डको नाम कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस रहनेछ ।
पत्रकार सम्मेलनमा अवार्डको मुख्य प्रायोजक रहेको कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशीले अवार्डमा जोडिने अवसर दिएकोमा आयोजकलाई धन्यवाद दिए । ‘कोरोना कहरमा पनि अवार्डले निरन्तरता पाउँनु निकै खुसीको खबर हो,’ उनले भने, ‘यो अवार्डलाई सुदूरपश्चिमको पर्वको रुपमा आयोजना गर्न आवश्यक छ ।’
अस्पतालले अर्थोपेडिक हाडजोर्नी, ल्याप्रोस्कोपी तथा जनरल सर्जरी, नवजात शिशु तथा बालरोग, मानसिक रोग, मुटुरोग, स्त्री तथा प्रसुती, छाला तथा यौनरोग, नाक कान घाँटी, प्याथोलोजी, रेडियोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे लगायतका सेवाहरु दिदैं आएको छ ।
मुख्य प्रायोजक कैलाली अस्पताल रहेको अवार्डमा वर्ष पुरुष खेलाडीलाई नवजीवन अस्पताल, वर्ष महिला खेलाडीलाई नोभा अस्पताल, वर्ष युवा खेलाडीलाई निसर्ग अस्पताल, स्पेशल अवार्डलाई न्यू सिटी पोलीक्लिनीक, लाईफटाईम एचिभमेन्ट अवार्डलाई सारथी अस्पताल, सुदूरपश्चिम आईकन पुरुषलाई माया मेट्रो अस्पताल र महिलालाई तिवारी मेडिसिनले प्रायोजन गरेका छन् ।
वर्ष प्रशिक्षक र वर्षको चर्चित खेलाडी विधाका लागि प्रायोजकको खोजी भइरहेको मञ्चका अध्यक्ष ओझाले बताए । अवार्डको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका रहेको छ । धनगढीको ओम प्यालेस अवार्डको भेनु पार्टनर रहेको छ भने सुरक्षाको जिम्मा गुरुकुल सेक्युरिटीले लिएको छ ।
२६ माघ २०७७, सोमवार १७:३७ बजे प्रकाशित












