लालझाडीमा हात्तीले फेरी घर भत्कायो
कञ्चनपुरको लालझाडी गाउँपालिकामा फेरी हात्तीले २ घर भत्काएको छ । बुधवार राती करिब ९ बजे लालझाडी गाउँपालिका वडा नम्बर ६ चान्देउमा ४०र५० संख्यामा गाउँ पसेको हात्तीको बथानले स्थानीयका २ घर भत्काएको हो ।
हात्तीको बथानले स्थानीय प्रेमबहादुर बोहरा र नरबहादुर बिकको काठले छाएको एकतले कच्ची घर भत्काएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी गराए ।
स्थानीयको सहयोगमा प्रहरीले राति गाउँबाट हात्तीको बथान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ लखेटेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी गराए ।
गत आईतवार पनि लालझाडी गाउँपालिकाको ढक्कामा बस्दै आएका आरक्ष विस्थपित १२ परिवारका झुपडी हात्तीको बथानले भत्काइ दिएको थियो ।
१५ माघ २०७७, बिहीवार १३:२८ बजे प्रकाशित































