भूमिहीन सुकम्बासीको लगत संकलन लागि अभिमुखीकरण
धनगढी उप–महानगरपालिकाले भूमिहीन र सुकम्बासीहरुको पहिचान, लगत संकलन र प्रमाणीकरणलगायतको काममा खटिने कर्मचारीहरुलाई अभिमुखीकरण तालिम दिएको छ ।
भूमिहीन र सुकम्बासीहरुको पहिचान, लगत संकलन गर्दा अपनाइने विधी, फराम भर्ने तरिका, फारामका किसिम, लगत संकलनमा अपनाउनुपर्ने सजकताका वडाका वडा सचिव, सामाजिक परिचालकहरु, भूमिहिन र सुकम्वासी लगत संकलन इकाई कार्यालय कर्मचारीहरुलाई अभिमूखीकरणमा गरिएको धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले बताए ।
धनगढी उप–महानगरपालिकाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा भूमी सम्वन्धी समस्या समाधान आयोगका कर्मचारीहरुले सहजीकरण गरेको नगरप्रमुख वडले बताए ।
‘कुनैपनि भूमिहीन र सुकम्वासीहरु जग्गाधनी पूर्जा पाउनबाट छुट्नु हुदैन भन्ने हो,’ नगरप्रमुख वडले भने, ‘त्यसका लागि लगत संकलन देखि नै त्रुटी हुनुहुदैन ।’ भूमिहिन र सुकम्वासीहरुलाई जग्गाधनीपूर्जा दिने कुरो चुनावी घोषणापत्रमा नै राखेको भन्दै नगरप्रमुख वडले त्यो काम आफ्नो कार्यकाल भित्रै पूरा गर्ने बताए ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले लगत संकलनका लागि चाडै कर्मचारीहरु फिल्डमा खटिने बताइन् । ‘अभिमुखीकरण गरिएको छ,’ उप–प्रमुख भट्टले भनिन्, ‘लगत संकलन र पहिचानमा त्रुटी हुन नदिन यसले सहयोग पुग्ने छ ।
त्यसैगरी धनगढी उप–महानगरपालिकाले सुकम्वासी लगत संकलन इकाई कार्यालय स्थापना गरेर काम थालिसकेको छ । जग्गा हस्तान्तरणको प्रकृया थाल्नका लागि भूमिहीन सुकम्वासी र अब्यबस्थीत बसोवासीको पहिचान, लगत संकलन र प्रमाणिकरणको सबै काम सुकम्वासी लगत संकलन इकाई कार्यालयबाट हुने निमित्त प्रमुख प्रशासकिय अधिकृत लोकराज उपाध्यायले बताए । ऐलानी र प्रति जग्गामा बसेकाहरुलाई उप–महानगरपालिकाले सबै सेवा सुविधा दिएर पनि करको दायरमा ल्याइनेसमेत बताए ।
१२ माघ २०७७, सोमवार १६:४३ बजे प्रकाशित













