शिकार खेल्ने क्रममा बन्दुक पड्किँदा किशोरको मृत्यु
पाल्पामा शिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्कदा एक किशोरको मृत्यु भएको छ । जिल्लाको रिब्दिकोट गाउँपालिका–८ दानसिङडाँडाको चिलाउनेपानी सामुदायिक वनमा भरुवा बन्दुक पड्कदा १३ वर्षीय लक्ष्मण छहारीको मृत्यु भएको हो ।
रिब्दीकोट–८ बस्ने मृतक छहारीसहित बिहीबार राति चारजना वनमा सिकार खेल्न गएका थिए । करीब ९ बजे सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मृतक छहारीसँगै सिकार खेल्न गएका रैनादेवी छहरा गाउँपालिका–४ भर्माटुङका १७ वर्षीय ज्ञानबहादुर गाहा, सोही स्थानका १४ वर्षीय कमल राना र रिब्दीकोट गाउँपालिका–८ दानसिङडाँडाका १३ वर्षीय देवबहादुर गाहालाई भरुवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
९ माघ २०७७, शुक्रवार १५:४४ बजे प्रकाशित






























