नेकपा विवाद : कसले पाउला सूर्य ?
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिबेला ओली समूह र प्रचण्ड–नेपाल समूहमा बाँडिएको छ । दुवै पक्षले आफू वैधानिक भएको दाबी गर्दै आएका छन्। दुवै पक्षले काठमाडौंमा मंगलबार छुट्टाछुट्टै भेला गरेर विभिन्न निर्णय गर्नुका साथै आफू वैधानिक नेकपा भएको दाबी गरेका छन्।
ओलीको नेतृत्वको केन्द्रीय कमिटीबाट पार्टीको प्रवक्ताको जिम्मेवारी पाएका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको अध्यक्ष, महासचिव र माइन्युट विनाको बैठकले गर्ने कुनै पनि निर्णयले वैधानिकता नपाउने बताएका छन्।
उता ९नेकपा० प्रचण्ड–नेपाल समूहले पार्टीको आधिकारिकताको लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । सो समूहका तर्फबाट पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको हस्ताक्षरसहित पुस ७ गतेको केन्द्रीय समितिको निर्णय आयोगको जानकारी तथा आवश्यक कारवाहीका लागि भनी आयोगमा पत्र दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
उक्त समूहले ४४१ सदस्यीय नेकपाको केन्द्रीय कमिटीमध्ये २८७ जना आफ्नो पक्षमा रहेको जिकिर गर्दै आधिकारिकता आफ्नो पक्षले पाउनुपर्छ भन्ने माग गरेको छ। उक्त पत्र दर्ता गराउन पार्टी नेता सुरेन्द्रप्रसाद पाण्डे, लीलामणि पोखरेल र मुक्ति प्रधान आयोग पुगेका थिए।
ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवाली पार्टी अध्यक्ष, महासचिव र माइन्युटबिनाको बैठकले वैधानिकता नपाउने बताउँछन।
‘उहाँहरू आफ्नो नजिकको साथीहरू बस्नुहोला, त्यो बैठक हुँदैन। त्यो बैठकको निर्णयको कुनै वैधानिकता पनि हुने भएन, किनभने बैठक बस्न अध्यक्ष चाहियो, महासचिव चाहियो र माइन्युट चाहियो। महासचिवले सूचना जारी गर्नुपर्यो। हाम्रो पार्टीको मौजुदा विधानले त्यही भन्छ।,’ ज्ञवालीले संचारकर्मीसँग भने, ‘पार्टीको मौजुदा विधानले महासचिवले बैठकको सूचना र एजेण्डा तय गर्ने भन्छ। दोस्रो कुरा पार्टी विभाजित भएको छैन। कमसेकम हाम्रोतर्फबाट, प्रधानमन्त्रीको तर्फबाट पार्टी विभाजित भएको छैन, पार्टी एकताबद्ध छ। कमिटीमा साथीहरू थपिनुभएको छ। निर्वाचनमा एकताबद्ध भएर जानुपर्छ भनेर उहाँले अपिल गर्नुभएको छ । त्यसकारण अहिले विभाजन नै नभएको हुनाले यसमा कसैको हात देखिरहनुपरेन। आफ्नो थैलीको मुख बलियो गरी बाधौँ, अरू कसैलाई दोष दिनुपर्ने आवश्यकता छैन।’
यतिबेला सूर्य चिन्ह र पार्टीको आधिकारिता नेकपाको दुवै पक्षका लागि प्रतिष्ठाको विषय बनेको छ। प्रचण्ड–माधव पक्षले बुधबार मात्रै आफूहरु नै आधिकारिक भएको भन्दै निर्वाचन आयोगमा निवेदन दिएको छ।
ओली पक्षको बुधबार देखि सुरु भएको प्रशिक्षणमा नेताहरुले पार्टी विभाजन नभएको बाध्यात्मक अवस्थामा चुनाव घोषणा भएको उल्लेख गर्दै सूर्य चिन्ह आफूहरुकै हुने भन्दै उच्च मनोवलका साथ निर्वाचनमा लाग्न निर्देशन दिएका थिए।
ओली पक्षधरले निर्वाचन आयोगमा आफ्ना केन्द्रीय कमिटी सदस्यहरूको नामावली बुझाएका छन्। मंगलबार केपी ओली पक्षधरको सूची आयोगमा बुझाएको थियो। प्रधानमन्त्री ओली पक्षधर केन्द्रीय कमिटी सदस्यहरूको बैठक मंगलबार बिहान बालुवाटारमा बसेको थियो। उक्त बैठकले केन्द्रीय कमिटी सदस्यहरू थपी नाम निर्वाचन आयोगमा पठाएको हो।
ओली समूह सूर्य चिन्ह पाउनेमा विश्वस्त देखिएजस्तै प्रचण्ड–नेपाल समूह पनि सूर्य चिन्ह आफूले पाउनेमा विश्वस्त देखिएको छ।
निर्वाचन आयोगले दुवै पक्षले बुझाएको कागजातमाथि छानवीन सुरु गरेको छ।
९ पुस २०७७, बिहीवार १०:३४ बजे प्रकाशित






























