फेरि नयाँ भाइरस देखिएपछि विदेशबाट आउनेलाई १० दिन क्वारेन्टाइन
संयुक्त अधिराज्यमा नयाँ प्रकारको भाइरसको प्रकोप देखिएपछि विदेशबाट नेपाल आएका यात्रुलाई अनिवार्यरुपमा होटल क्वारेन्टाइनमा बस्न सरकारले निर्देशन दिएको छ ।
सो नयाँ भाइरस नियन्त्रण तथा रोकथामका लागि नेपालले विदेशबाट आउने सबैलाई १० दिन होटल बसी कोरोना परीक्षण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना नै जारी गरेको हो ।
जारी सूचनामा पुस १ देखि ७ गतेसम्म संयुक्त अधिराज्यबाट नेपाल आएका र सोही बाटो हुँदै नेपाल आएका सम्पूर्ण यात्रुलाई १० दिन क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको छ । संयुक्त अधिराज्यमा फैलिएको नयाँ रोग नेपालमा नफैलियोस् भन्ने हेतुले संक्रमण फैलिएको मुलुकबाट फर्कने सबैलाई ७ देखि १० दिनभित्र पीसीआर परीक्षणका लागि निःशुल्क व्यवस्था मिलाइएको पनि सूचनामा उल्लेख गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले सरकारी प्रयोगशालामा गएर निःशुल्क परीक्षण गर्न सकिनेसमेत उल्लेख गरेका छन् । एक वर्षदेखि फैलिएको कोरोना भाइरसले विश्वमा नै त्रास सिर्जना गरिरहेका बेला पुनः नयाँ भाइरसले यति बेला विश्वलाई सोच्न बाध्य बनाएको छ ।
९ पुस २०७७, बिहीवार ०८:२३ बजे प्रकाशित






























