आफूले रोजेको केटासँग विवाह नगर्दा बहिनीको हत्या
खोटाङमा आफूले रोजेको केटासँग प्रेम विवाह नगरेपछि दाजुले बहिनीको हत्या गरेका छन् । जिल्लाको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईले दाजुले रोजेको भन्दा आफ्नै प्रेमीसङ्ग बिहे गरेपछि उनको हत्या भएको हो ।
पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या गरेको खुलासा भएको हो ।
करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुन्तलाले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २६ वर्षीय दिनेश कटवालसँग प्रेम विवाह गरेकी थिइन् । विवाह गरेको तीन दिनपछि सोमबार दाजु सञ्जीवले बहिनी सकुन्तलाको घरैबाट उनलाई जङ्गलमा लगेर हत्या गरेको खुल्न आएको हो ।
हत्या हुनुभन्दा अघिल्लो राति दाजु सञ्जीवको फोनबाट पटकपटक धम्की आइरहेको र बिहान आफैँ हाम्रो घरमा आएर सकुन्तलालाई लगेर हत्या गरेको उनका श्रीमान् दिनेशले बताए । हाम्रो घरायसी व्यवहार छ भन्दै दाजु सञ्जीवले सकुन्तलालाई साथैमा लगेर गएको पछि फोन सम्पर्क नभएपछि खोजतलास गर्दा सेखुवा र निर्मणलीडाँडाको सिमानामा पर्ने साप्सुखोला नजिकैको जङ्गलमा हत्या भएको अवस्थामा फेला परेकी उनले बताए ।
भिनाजुको घरबाट हिँडेको करीब एक घण्टामै दिदीको हत्या भएको हुनसक्ने सकुन्तलाका भाइ समीर राईले बताए । उनले दाजु सञ्जीवले दिदीलाई जङ्गलमा लगेर कुट्दै गरेको भेडा गोठालाले देखेको बताए ।
विद्यालय तहको अध्ययन गर्दादेखि नै प्रेम सम्बन्धमा रहेका दिनेश वैदेशिक रोजगारीको सिलसिलामा तीन वर्ष मलेशिया बसेर हालै घर आएका थिए । भाइ समीरका अनुसार सकुन्तला प्रेमी दिनेश वैदेशिक रोजगारीको सिलसिलामा मलेशिया रहेको समयमा काठमाडौँमा सिलाइ(कटाइ पेशा गर्दै आएकी थिइन् ।
घटनामा संलग्न राईलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए ।
दाजुको कुटाइबाट ज्यान गुमाएकी सकुन्तलाको शरीरको विभिन्न भागमा चोट तथा नीलडाम देखिएको आफन्तले बताएका छन् ।
उत्तिसको लाथ्रो ९लौरो०ले हानेर हत्या गरिएकी सकुन्तलाको शव मङ्गलबार जिल्ला अस्पताल खोटाङमा परीक्षण गरेपछि माइतीपक्षले जिम्मा लिएर दाहसंस्कार गरेको छ ।
८ पुस २०७७, बुधवार १०:०० बजे प्रकाशित































