नेपालको नयाँ नक्साअनुसार क्षेत्रफल थप गर्न प्रस्ताव, कति हुँदैछ क्षेत्रफल ?
नापी विभागले भूमि व्यवस्था मन्त्रालयलाई नयाँ नक्साअुनसार नेपालको क्षेत्रफल ८ सय २५ वर्ग किमि थप गर्न प्रस्ताव पठाएको छ । प्रस्ताव दशैंअघिनै मन्त्रालयमा पठाइएको बताइएको छ ।
स्रोतका अनुसार प्रस्तावित कुल क्षेत्रफल अब १ लाख ४८ हजार ६ दशमलब ६७ वर्ग किमि हुने छ । नयाँ नक्सा जारी गर्नु अघि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किमि मानिएको थियो ।
जेठ ७ सरकारले कालापानी, लिपुलेक तथा लिम्पियाधुरा क्षेत्रलाई समेटर नयाँ नक्सा जारी गरे पछि नयाँ नक्सा अनुसार सरकारले आधिकारिक क्षेत्रफल घोषणा गरेको छैन । नक्सा जारी गरे लगत्तै मन्त्रालयले नापी विभागलाई अद्यावधिक गरिएको नक्सा अनुसार क्षेत्रफल नापजाँच गर्न निर्देशन दिएको थियो ।
मन्त्रालयको निर्देशन पछि विभागका प्राविधिकहरुले नयाँ नक्सा अनुसार क्षेत्रफल नापजाँच गरेका थिए । यस क्रममा विभागका प्राविधिकहरु छाङरु,कालापानीसम्म पुगेको स्रोतको भनाइ छ ।
मन्त्रालय स्रोतका अनुसार विभागले तयार गरेको प्रस्ताव केही दिनमा मन्त्रिपरिषद्मा लैजाने तयारी भएको छ । उक्त प्रस्तावलाई मन्त्रिपरिषद्ले पास गरे पछि थप गरिएको क्षेत्रफल आधिकारिक रुपमा घोषणा हुनेछ ।
अहिले हामीले ‘एरिया अफ नेपाल’भनी सर्च गर्यौ भने गुगलले नेपालको क्षेत्रफल १ लाख ४७ हजार ५सय १६ वर्ग किमि देखाउँछ । तर यो क्षेत्रफल आधिकारिक होइन । नयाँ नक्सा जारी गर्नु अघि नेपालको आधिकारिक क्षेत्रफल १ लाख ४७ हजार १सय ८१ वर्ग कि।मि। थियो । त्यसअघि, गुगलले पनि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किमि देखाउने गरेको थियो ।
सरकारले अद्यावधिक गरेको नयाँ नक्सालाई प्रतिनिधिसभाबाट २०७७ जेठ ३१ गते संविधानको अनुसूची ३ मा राख्ने प्रस्तावलाई सर्वसम्मत पास गरेको थियो । संसदले नै सर्वसम्मत पास गरे पछि पुरानो नक्सा अनुसार नापजाँच गरिएको क्षेत्रफल नेपालको आधिकारिक क्षेत्रफल नहुने विभागले जनाएको छ ।
नापी विभागले लिपुलेक तथा लिम्पियाधुराको क्षेत्रफलको करिब तीन सय ३५ वर्ग किमि रहेको जनाएको छ । जसअनुसार नेपालको क्षेत्रफलमा लिपुलेक र लिम्पियाधुराको क्षेत्रफल जोड्दा एक लाख ४७ हजार पाँच सय १६ पुगेको हो । यसलाई आधार मानि गुगलले नेपालको क्षेत्रफल १ लाख ४७ हजार ५सय १६ देखाएको हो । तर विभागका कर्मचारीहरुले गरेको नाप जाँचमा १लाख ४७ हजार ५सय १६ वर्ग किमिभन्दा बढी भएको देखाएका छन् ।
विभागका प्राविधिकहरूले स्केल, प्रोजेक्टसन सिस्टम र कोडिर्नेट सिस्टम मिलाएर नयाँ नक्सा तयार गरेका हुन् । यो नक्सा प्रशासनिक तथा राजनीतिक हो । सीमा नक्सा होइन । यसअघि २०३२ सालमा जारी गरिएको नेपालको सीमा नक्सामा लिम्पियाधुरा क्षेत्रको करिब तीन सय ३५ वर्ग किमि भूभाग समेटिएको थिएन ।
नयाँ नक्सा अद्यावधिक गर्नुअघि नेपालले घोषणा गरेको आधिकारिक क्षेत्रफल (एक लाख ४७ हजार १ सय ८१ वर्ग किमि) सन् १९८३ मा गरिएको मापन हो । क्यानडा सरकारको सहयोगमा एलआरएमपी (ल्यान्ड रिर्सोसेज म्यापिङ प्रोजेक्ट) ले सन् १९८३ मा गरेको मापनमा नेपालको क्षेत्रफल एक लाख ४७ हजार एक सय ८१ रहेको रिपोर्ट बुझाएको थियो । सो रिपोर्टको आधारमा सरकारले नेपालको आधिकारिक क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ मान्दै आएको थियो ।
२२ कात्तिक २०७७, शनिवार १५:२७ बजे प्रकाशित













