कैलालीको चुरेका कुखुरामा रोग नदेखिएको पुष्टि

धनगढी। कैलालीको चुरे गाउँपालिका–३ भक्तपुरमा ब्रोइलर कुखुराको मासु खाएपछि दुई बालकको मृत्यु र दुई जना बिरामी भएको घटनामा कुखुरामा कुनै खतरनाक संक्रामक रोग नदेखिएको पुष्टि भएको छ।

घटनापछि पशु चिकित्सालय प्रयोगशाला धनगढीको टोलीले कुखुराको नमुना संकलन गरी पोस्टमार्टम तथा प्रयोगशाला परीक्षण गरेको थियो। प्रयोगशालाका प्रमुख डा. नरेश जोशी का अनुसार परीक्षणका क्रममा बर्ड फ्लु, ब्रोंकाइटिस र गुम्बारो लगायतका कुनै पनि प्रमुख भाइरल रोग नदेखिएको पुष्टि भएको हो।

उनले केही सञ्चारमाध्यममा आएको “बर्ड फ्लु लागेको कुखुरा खाँदा घटना भएको” भन्ने समाचार सत्य नभएको स्पष्ट पारे। “तत्काल टोली पठाएर नमुना परीक्षण गर्दा कुनै पनि खतरनाक रोग देखिएन,” उनले बताए। चिकित्सकहरूले अत्यधिक गर्मीका कारण सडेगलेको वा बासी  मासु वा खाना सेवन गर्दा फुड पोइजनिङ भएको हुन सक्ने बताएका छन्।

गत वैशाख ४ गते उक्त स्थानका ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकार को मृत्यु भएको थियो। मृतककी आमा राधा ताम्राकार र तीन वर्षीय एक बालक हाल नवजीवन अस्पताल मा उपचाररत रहेका छन्। चिकित्सकका अनुसार उनीहरूको अवस्था खतरामुक्त रहेको छ।


७ वैशाख २०८३, सोमवार १०:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु