राष्ट्र बैंकमा खाने होइन जागिर ? ७६ जनाको आवेदन माग

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदहरूमा ७६ जनाका लागि आवेदन खुला गरेको छ ।

केन्द्रीय बैंकले शुक्रबार खुला प्रतियोगितात्मक दरखास्त फारम भर्ने सम्बन्धी सूचना प्रकाशित गरेको छ । कुल संख्यामा ४३ जना खुला, १० जना महिला, १० जना आदिवासी तथा जनजाती, ७ जना मधेशी, ३ जना दलित, २ जना अपाङ्गता भएका र ३ जना पिछडिएका क्षेत्रका लागि दरखास्त आह्वान गरिएको छ ।

केन्द्रीय बैंकको मानव संसाधन व्यवस्थापन विभागले सहायक निर्देशक (अर्थशास्त्र), सहायक निर्देशक (व्यवस्थापन), सहायक निर्देशक (खुल्ला), सहायक निर्देशक (लेखा/लेखापरीक्षण), सहायक निर्देशक (वाणिज्य कानुन) र सहायक द्वितीय श्रेणी जस्ता पदहरूका लागि नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको हो ।

उक्त पदहरूका लागि आवेदन दिन चाहने इच्छुक नेपाली नागरिकहरूले २०८२ मंसिर १९ गतेसम्म (एकल दस्तुरसहित) विद्युतीय माध्यममार्फत दरखास्त फारम पेस गर्नुपर्ने । यस्तै, दोब्बर दस्तुर तिरी दरखास्त दिनका लागि अन्तिम २०८२ मंसिर २६ गतेसम्म तोकिएको छ ।

सहायक निर्देशक, खुला (अर्थशास्त्र) पदका लागि स्वदेशी विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गरेको हुनुपर्नेछ. सहायक निर्देशक, खुल्ला (व्यवस्थापन) पदका लागि व्यवस्थापन विषयमा स्नातकोत्तर तहमा प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गरेको हुनुपर्ने उल्लेख गरिएको छ ।

सहायक निर्देशक (लेखा/लेखापरीक्षण) का लागि मान्यताप्राप्त विश्वविद्यालयबाट चार्टर्ड एकाउन्टेन्ट परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । दरखास्त सम्बन्धी सम्पूर्ण विवरण, शुल्क, पाठ्यक्रम लगायतका जानकारी बैंकको वेबसाइटमा राखिएको छ ।

अधिकृत तृतीय श्रेणी (सहायक निर्देशक) का लागि प्रति समूह एक हजार रुपैयाँ र प्रत्येक थप समूहका लागि ५ सय रुपैयाँ दस्तुर लाग्नेछ । सहायक द्वितीय श्रेणीका लागि प्रति समूह ८ सय रुपैयाँ र प्रत्येक थप समूहका लागि ३ सय रुपैयाँ दस्तुर तोकिएको छ ।

सहभागी उमेदवारहरूले पूर्व योग्यता परीक्षा जहाँ लागू हुन्छ, त्यसपछि लिखित परीक्षा र अन्तर्वार्ताको माध्यमबाट छनोट गरिने सार्वजनिक सूचनामा उल्लेख छ ।


१९ मंसिर २०८२, शुक्रवार १५:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु