punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तुइनमै चुँडियो नारायणको सन्तानको अनुहार हेर्ने सपना

Chaupati
safha napa

दार्चुला। दार्चुलाको व्यास गाउँपालिका–२ तल्लो दुम्लिङ। बिहानको चिसो हावाले घरको आँगन हल्लाउँदै थियो।नौ महिनाकी गर्भवती श्रीमती जानकी बुढाथोकी (जन्ना) को आँखामा चनाखो प्रतीक्षा झल्किएको थियो। श्रीमान् नारायणसिंह बुढाथोकी भारतीय बजार जानको लागि तयारी गर्दै थिए, “सुत्केरीका लागि लत्ताकपडा, पोसिलो आहार र औषधि किन्न।”

स्वास्थ्यकर्मीले उनको श्रीमती जानकीलाई यही साउन ७ गते सुत्केरी हुने समय दिएको छ। तर, सन्तानको अनुहार हेर्ने र श्रीमतीका लागि सुत्केरी स्याहारका लागि सामान लिएर फर्किने त्यो यात्रा नारायणका लागि अन्तिम बन्न पुग्यो।

नारायण बिहानको समयमा गाउँका दुई साथीसहित महाकाली तर्ने तयारीमा थिए। नेपालतर्फबाट खलङ्गा पुग्ने पैदल मार्ग अप्ठ्यारो र समय लाग्दो थियो। त्यसैले धेरैजसोले महाकाली पार गरेर भारततर्फको सजिलो सडक मार्ग रोज्ने गरेका छन् र यो छोटो मार्गको हतारमा हरेक वर्ष स्थानीयको मृत्युवरण गर्नुपरेको छ। महाकाली नदी वारपार गर्ने गर्न झोलुङ्गे पुल नभएपछि स्थानीयवासीले अस्थायी तुइन प्रयोग गरेर यात्रा गर्ने गर्छन्।

यही असार ३१ गते नारायण पनि त्यही तुइन पार गरेर सामान लिन हिँडेका थिए। उनीसँगै गएका जितु पहिले तुइन पार गरे। डोरी खतरनाक रूपमा तन्कियो। उनी तर्दातर्दै डोरी महाकालीको छालतर्फ पुगिसकेको थियो। आधा लुगा भिजेरै भारतपट्टि पुगे जीतु। बल्लतल्ल ज्यान जोगाएर भारत पुगेका जितुले पारि ९भारत० पुगेर गहिरो श्वास फेरे। तर आफूभन्दा पछाडि आउँदै थिए गाउँकै नारायण।

जितुले तुइनमा चढेर वारि भारत आउँदै गरेका नारायणलाई हातको इशारामा नआउन भने तर नारायणले त्यो इशारा देखेनन वा बुझेनन्। चट्टानमा ठोक्किँदै आएको महाकालीको तीव्र वेग र चिच्चाहटले बोलेको सुन्ने सक्ने अवस्था थिएन।

पिठ्यूँमा किनमेल गर्न बोकेको झोला, काँधमा आशाको भरोसा बोकेर तुइन समातेर नारायण महाकालीमाथि कुद्न लागे। बीचमा पुग्दा भारततर्फको खम्बा एक्कासि भाँचियो, नारायण सिधै महाकालीमा हेलिन पुगे। बर्खाको उर्लंदो महाकालीको छालले सधैँका लागि महाकालीमा नारायण विलीन भए। “मेरो इशारा मात्रै बुझेको भए नारायण पारि गाउँतर्फ नै रोकिन सक्नुहुन्थ्यो, अकालमै ज्यान जाने थिएन”, आफ्नै आँखाअगाडि सँगैको साथी गुमाउनु पर्दा असह्य पीडा भएको बताउँदै जितुले भने, ‘‘उहाँको घरमा भाउजू र सानो छोराको अवस्था देख्दा साह्रै चिन्ता लागेको छ।’’

नारायणको बाटो पर्खेका श्रीमती जानकी अझै पनि घरको ढोकातिर आँखा गाडेर बसिरहेकी छिन्। परिवारको खुसीका लागि बच्चा जन्मनै लाग्दा श्रीमान्को मृत्युको खबरले उनी भक्कानिएर बोल्नै सक्दिनन्। जन्मिनै लागेका शिशुको अनुहार नदेखीकन नारायण अस्ताए उर्लंदो महाकालीको गर्जनमा । नारायणको यसअघि चार वर्षका एक छोरा छन्।

मागको सुनुवाइ नहुँदा बर्सेनि जान्छ ज्यान

विसं २०७२ मा प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई दुई वर्षभित्र तुइनमुक्त बनाउने घोषणा गरे। घोषणा गरेपछि दार्चुलाको व्याँस गाउँपालिकाको पाँच स्थानमा महाकाली नदीमाथि झोलुङ्गे पुल निर्माण भएका छन्। व्याँस गाउँपालिका–२ स्थित मालघाट, वडा नं ४ को मलघट्टे, वडा नं ५ को तिगरम, वडा नं ६ को बडूगाउँमा पनि झोलुङ्गे पुल छन्। व्याँस वडा नं १ को सीतापुलमा काठेपुल निर्माण भएको छ।

यस्तै, लेकमको लाली, मालिकार्जुनको जोलजीविमा झोलुङ्गे पुल निर्माण भएका छन्। वडा नं २ दुम्लिङमा झोलुङ्गे पुल निर्माणका लागि भारतले अनुमति नदिँदा पुल बन्न बाँकी रह्यो। दुम्लिङबाट हाल निर्माण भएको वडा नं २ कै मालघाट पुल पुग्न दुई घण्टा बढी समय लाग्छ।

स्थानीयवासीको माग पूरा नहुँदा यहाँका नागरिकले हरेक वर्ष तुइनबाट खसेर ज्यान गुमाउनु परेको छ। व्याँस गाउँपालिका–२ दुम्लिङका मात्रै २०७९ मा १८ वर्षीय सचिन बुढाथोकी र २०८० वैशाख ९ गते ४५ वर्षीय सिङ्दलसिंह भण्डारी महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर बेपत्ता भए। वडा नं २ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीका अनुसार तुइनबाट खसेर वडा नं २ को मात्रै २६ जनाको मृत्यु भइसकेको छ।

व्यास–२ दुम्लिङमा अहिले पनि कम्तीमा तीन स्थानमा अस्थायी तुइन प्रयोग गरिन्छ। स्थानीय प्रभात बुढाथोकी भन्छन्, “हामीले झोलुङ्गे पुल बनाइदिन सरकारलाई कैयौँ पटक आग्रह ग¥यौँ, तर सरकारले वास्ता गरेन । हरेक मन्त्री प्रधानमन्त्री, सासंदलाई ज्ञापन बुझाएका छौँ।”

अर्का स्थानीय महेन्द्रसिंह बुढाथोकी भन्छन्, “दुम्लिङ, कल्जु क्षेत्रमा कम्तीमा एक सय घरधुरीको बसोबास छ। तर यहाँका बासिन्दाका लागि मात्रै तुइन विस्थापन गरेर झोलुङ्गे पुल बनेन।” दुम्लीङबाट नजिकै रहेको झोलुङ्गे पुल पुग्न दुई घण्टा हिँड्नुपर्छ। वडा नं २ मालघाटमा २०७८ साउन १५ गते जयसिंह धामीको तुइनबाट खसेर मृत्यु भएपछि झोलुङ्गे पुल बनेको थियो। त्यो पुलबाट राप्ला र मालका स्थानीय आवतजावत गर्ने गर्छन्।

दुम्लिङसम्म भर्खर मात्रै नेपाली सेनाले दार्चुला टिङ्कर सडक निर्माण गरिरहेको छ। सडकमा गाडी नगुडेको र झोलुङ्गे पुल पुग्न समय लाग्ने भएपछि यहाँका नागरिकले अवैध तर सजिलो विकल्पका रुपमा तुइनको प्रयोग गर्ने गर्छन्। वडाध्यक्ष धिरनसिंह बुढाथोकी थप्छन्, “प्रत्येक वर्ष दुम्लिङ क्षेत्रबाट कोही न कोही महाकालीमा हराउँछन्, तर राज्यको आँखामा यो ठाउँ देखिँदैन।” मागपत्र दिएकै दशकौँ भयो।

विसं २०७८ अघिसम्म भारतले अस्थायी रुपमा काठेपुल लगाउन दुम्लिङमा अनुमति दिएको थियो। तर कोरोनापछि भारतले अस्थायी काठेपुल भत्काइदिएपछि यो क्षेत्रका बासिन्दा लुकीछिपी तुइन लगाउने गर्छन्। अहिले पनि तुइन लगाएको देख्नेबित्तिकै भारतीय एसएसबीले काटिदिन्छ। फेरि त्यही ठाउँमा स्थानीयले आफ्नो सजिलोका लागि तुइन प्रयोग गर्छन्। प्रमुख जिल्ला अधिकारी अनिल पौडेल वैधानिक रुपमा तुइन नभए पनि स्थानीयले सजिलोका लागि तुइन प्रयोग गर्ने गरेको पाइएको बताउँछन्। “हामीले तुइन हटाउने प्रयास गरिरहेका छौँ, तर वैकल्पिक संरचना नहुँदा स्थानीय बाध्य हुँदा रहेछन्।”रासस


६ साउन २०८२, मंगलवार १७:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु