पटक–पटक पूर्व माओवादीको रुपमा अपहेलना गर्ने काम मात्र भएको भन्दै ४६ जना संगठित सदस्यले छोडे एमाले
धनगढी । कैलालीमा माओवादी केन्द्रबाट एमालेमा गएका दर्जनौं कार्यकर्ताले पार्टी परित्याग गरेका छन्। पार्टी भित्र आफुहरुलाई पटक–पटक पूर्व माओवादीको रुपमा अपहेलना गर्ने काम मात्र भएको भन्दै सामुहिक राजीनामा दिएका हुन् ।
जिल्लाको गोदावरी नगरपालिका–२ का नगर कमिटी सदस्य लगायत ४६ जना संगठित सदस्यहरुले सामुहिक राजीनामा दिदै पार्टी परित्याग गरेका हुन् ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि आफ्ना नेता लेखराज भट्टसँगै एमालेमा गएका उनीहरुले पार्टी भित्र पुर्व माओवादी भनेर गरिने व्यवहारका कारण टिक्न नसकिने बताउदै राजीनामा दिएका छन् ।
उनीहरुले एमालेमा बस्दा आफुहरुलाई पटक–पटक पूर्व माओवादीको रुपमा अपहेलना गर्ने काम मात्र भएको दाबी गरेका छन्। उनीहरुले एमाले भएर बस्दा राजनीतिको रूपमा पूर्व माओवादी भनेर अपहेलित हुनुपर्ने, मुल नेतृत्वकै विरुद्ध तलैसम्म गुटबन्दी गर्ने परम्पराभित्र अब बस्न नसकिने कुरा राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
ती संगठित सदस्यहरुले पुनः माओवादीमै फर्किने समेत बताएका छन्। उनीहरुले तत्कालीन माओवादीले गरेको ठूलो क्रान्ति जनयुद्धलाई कसैले पनि इन्कार गर्न नसक्ने बताउँदै अहिलेको गणतन्त्र, संघीयता, समावेशिता सबै जनयुद्धकै जगमा आएको स्मरणसमेत गराएका छन्।
गोदावरी नगरपालिका–२ कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा पर्छ। उक्त क्षेत्रबाट प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार वीरबहादुर बलायर विजयी भएका थिए। बलायर निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार लेखराज भट्टलाई ३ हजार ५८४ मतान्तरले पराजित गर्दै विजयी भएका थिए। पूर्व माओवादीका नेता रहेका भट्ट नेकपा विभाजन हुँदा एमोलेमै बसेका थिए।
राजीनामा पत्र

२२ पुस २०८१, सोमवार १५:२४ बजे प्रकाशित












