punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका अधिकांश विद्यालय बाढी पहिरोको उच्च जोखिममा

Chaupati
safha napa

धनगढी। सुदूरपश्चिमका अधिकांश विद्यालय बाढी, पहिरो, आगलागी, चट्याङ लगायत प्राकृतिक प्रकोपको उच्च जोखिममा छन्।

अधिकांश विद्यालयहरु जंगल, खोलाकिनार, भिरालो स्थानमा निर्माण गरिएपछि प्राकृतिक प्रकोपको जोखिम बढेको हो। कैलालीको चुरे गाउँपालिका–३ सहजपुरमा रहेको ग्वाँसी आधारभूत विद्यालय सल्लाघारीको बिचमा रहेकाले चट्याङ, आगलागी र हावाहुरीका कारण जोखिममा छ। ठूलो वर्षा हुँदा, हावाहुरी चल्दा सल्लाका रुख ढलेर विद्यालयमा ठूलो क्षति हुनसक्ने जोखिम छ।

अत्तरिया–स्याउले जोड्ने भीमदत्त राजमार्गबाट करिब एक सय मिटर तल सजिलै देख्न सकिने स्थानमा रहे पनि सरोकारवालाको ध्यान पुग्न नसकेको स्थानीय दीर्घ सापकोटाले बताएका छन। विद्यालय व्यवस्थापन समितिले पटकपटक जोखिम न्यूनीकरणका लागि अनुरोध गरे पनि कुनै सुनुवाइ नभएको विद्यालयका प्रधानाध्यापक इन्द्रराज भण्डारीले बताएका छन्।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मुसेट्टीस्थित सडक छेउमै सरस्वती आधारभूत विद्यालय छ। सडकको माथिल्लतिर पहिरो खसेर भताभुङ्ग छ। सडकमा खसेको पहिरो हालै मात्र पन्छ्याएर आवातजावत गर्न मिल्ने भएको छ। गत भदौँ अन्तिम साता अविरल वर्षासँगै खसेको पहिरोले विद्यालयको भवनमा क्षति पुगाएको थियो।

भवनको विषयमा नगरपालिका, शिक्षा विकास तथा समन्वय समिति, जिल्ला प्रशासनलगायत सरोकारवाला निकायलाई जानकारी गराएको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक दिवाकर जोशीले बताए। विद्यालयका दुई भवनमध्ये तीनकोठे भवनमा पहिरोले क्षति पुगाएको थियो। उक्त भवनको ठाउँठाउँमा चिरा परेकाले विद्यार्थी बसाउनै नमिल्ने छ। अर्को दुईकोठे भवनको एउटा कोठामा कार्यालय छ।

अर्को कोठामा ‘प्लाइउड’ लगाएर दुई कोठा बनाइएको छ। कक्षा ५ सम्म अध्ययन हुने सरस्वती आधारभूत विद्यालयमा एउटै कोठामा २ कक्षाका विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक जोशीले बताए। भवन पहिरोले चर्किएपछि विद्यार्थीलाई बसाइमा निकै समस्या भएको उनको भनाइ छ। एउटा कोठालाई विभाजित गरेर दुई बनाउँदा पनि आवाज यताउता हुनाले पढाइमा समस्या हुने गरेको प्रधानाध्यापक जोशीको गुनासो छ।

२ कक्षाका विद्यार्थीलाई एउटै कक्षामा राखेर फरकफरक विषय अध्यापन गराउन पनि समस्या हुने गरेको शिक्षकहरुको भनाइ छ। सरस्वती आधारभूत विद्यालयमा ४० विद्यार्थी अध्ययनरत छन्। २०६३ मा स्थापना भएको सो विद्यालयमा स्थायी दरबन्दीका दुई, बालविकासका एक र निजी स्रोतका एक गरेर चार शिक्षक कार्यरत छन्। निजी स्रोतका शिक्षकलाई गत वर्षको पुसदेखि तलब पनि खुवाउन नसकिएको प्रधानाध्यापक जोशीले बताए।

डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी लगायत धेरै विद्यालय बाढी, पहिरो, जंगलको आगो र चट्याङबाट प्रभावित हुने अवस्थामा छन्। विशेषज्ञहरुले जोखिममा रहेका विद्यालयलाई सुरक्षित स्थानमा सार्न, संरचनात्मक सुधार गर्न र आपत्कालीन पूर्वतयारी कार्यक्रम सञ्चालन गर्न आवश्यकता रहेको बताउँदै आएका छन्। प्राकृतिक जोखिमको अवस्थामा सरकारले प्राथमिकताका साथ योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनीहरुको भनाइ छ। सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका स्थानीय प्रशासनले प्राकृतिक जोखिमबाट जोगिन योजना बनाएका भए पनि जोखिममा परेका विद्यालयको हकमा भने अहिलेसम्म कुनै काम हुन सकेको छैन।

 


२ पुस २०८१, मंगलवार १६:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु