लालझाडीका बडायक दम्पती हत्याकाण्डका मुख्य अभियुक्त पक्राउ
धनगढी । कञ्चनपुरको लालझाडी गाउँपालिका– १ बिनबारीका बडायक दम्पती हत्याकाण्डका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। लालझाडी गाउँपालिका– १ बिनबारीका ४६ वर्षीय रामेश्वर बडायक र उनकी श्रीमती ४३ वर्षीया कमला बडायकको हत्या आरोपमा प्रहरीले लालझाडीकै एक व्यक्ती पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ८ कात्तिकमा बडायकदम्पती हत्यामा संलग्न रहेको आशंकामा लालझाडी– २ का ५० वर्षीय गंगाराम राना पक्राउ पक्राउ परेका हुन्। आज बिहीबार पक्राउ परेका रानालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ। बडायकदम्पती हत्याकाण्डमा झन्डै डेढ महिना अर्थात् ४३ दिनमा अभियुक्त पक्राउ परेका हुन्।
८ कात्तिकको राति हत्या भएकोमा ९ कात्तिक शुक्रबार बिहान बडायकदम्पती मृत फेला परेका थिए।
मदिरा बिक्री–वितरण गर्दै आएका बडायकदम्पतीले आफूलाई गाली गरेपछि पहिले रामेश्वरलाई लाठी प्रहार गरेर हत्या गरेको र त्यसपछि उनकी श्रीमतीको पनि हत्या गरेको पक्राउ परेका रानाले प्रहरीमा बयान दिएका छन्। रानाले आफू एक्लैले हत्या गरेको बयान दिए पनि प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
२० मंसिर २०८१, बिहीवार १९:०८ बजे प्रकाशित































