जग्गा विवादमा सहयोगीलाई नै ‘सुपारी’ दिएर पूर्वराज्यमन्त्रीको हत्या
काठमाडौँ । जग्गाको विवाद चुलिँदै गएपछि पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ ।
पूर्वराज्यमन्त्री राय सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ रतनपुर स्थित आफ्नै घरमा साउन ७ मा मृत भेटिएका हुन् ।
हत्याको योजनाकारको आरोपमा प्रहरीले राज्यमन्त्रीका छिमेकी ४६ वर्षीय वीरेन्द्र रायलाई पनि पक्राउ गरेको छ । रायले राज्यमन्त्रीका सहयोगी २१ वर्षीय राम उजेन रायलाई प्रलोभन दिएर हत्या गर्न लगाएका थिए ।
जग्गाको विवाद चुलिएपछि वीरेन्द्रले सहयोगीलाई ‘सुपारी’ दिएर हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको सर्लाहीका एसपी रवीन्द्र सिंहले बताए । उनले भने–‘आफ्नो जग्गा राज्यमन्त्रीको फार्म हाउस तर्फ घुसेको बारेमा विवाद देखिन्छ ।’
वीरेन्द्रले राज्यमन्त्रीका सहयोगीलाई ‘हत्यापछि दुई लाख नगद र फार्म हाउस स्थापना गर्दिन्छु’ भनेर हत्या गर्न लगाएको एसपी सिंहले बताए
सर्लाहीको कबिलासी नगरपालिका–३ घर भएका राम उजैन ८१ वर्षीय पूर्व राज्यमन्त्रीको सहयोगीको रूपमा कार्यरत थिए ।
आरोपीहरू विरुद्ध ज्यान सम्बन्धी कसुरमा अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१५ साउन २०८१, मंगलवार १८:२० बजे प्रकाशित