विपक्षीलाई पेलेर प्रधानमन्त्री प्रचण्डले लिए विश्वासको मत

काठमाडौं । प्रतिपक्षी दलका सांसदहरुलाई बेल घेरामा पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका छन् ।

प्रतिनिधि सभाको बैठकमा १५८ सांसद उपस्थित भएकामा विश्वासको मतको पक्षमा १५७ मत परेको छ । विपक्षमा शून्य र मत दिन्नँ भन्ने पक्षमा १ मत परेको छ ।

संसद बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरु आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।

सभामुखले बस्न आग्रह गर्दा उल्टै उनीहरु वेल घेराउ गर्दै नाराबाजी गर्न लागे । उनीहरुले नाराबाजी जारी राखेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका थिए ।

त्यसपछि सुरु भएको बैठकमा पनि कांग्रेससहितका विपक्षी दलहरुले नाराबाजी जारी राखेपछि पनि सभामुख घिमिरेले त्यही बिचमा विश्वासको मतको प्रस्ताव राख्न प्रधानमन्त्री प्रचण्डलाई अनुमति दिए र मतदान प्रक्रिया सुरु गरे ।

वेलसम्म पुगेका विपक्षी दलहरुलाई मर्यादापालकले चारैतिरबाट घेरेर राखेका थिए । विपक्षी दलहरुले वेल घेरेका कारण प्रधानमन्त्री प्रचण्ड भिड छिचोल्दै रोष्टमसम्म पुगेका थिए । रोष्टमबाट प्रधानमन्त्री प्रचण्डले आक्रोश व्यक्त गर्दै कांग्रेसको यो गतिविधि कलंकको रुपमा स्थापित हुने बताए ।

प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै मंगलबार ११ बजेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।


७ जेठ २०८१, सोमवार १३:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु