बझाङमा एमालेका भण्डारी र कांग्रेसका सिंह नै मुख्य प्रतिस्पर्धी

काठमाडौं । बझाङ प्रदेश निर्वाचन क्षेत्र १ मा हुने उपनिर्वाचनमा सबै पार्टी आ–आफ्ना उम्मेदवार खडा गरेर चुनावी मैदानमा उत्रिएका छन् ।

तत्कालीन प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहित १२ दल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

सबै उम्मेदवार आ–आफ्नो पक्षमा माहोल सृजना गर्न लागिरहेका छन् । तर मौन अवधि सुरु हुनुभन्दा केही समयअघिसम्म यहाँ कांग्रेस र एमालेबीच नै कडा प्रतिस्पर्धा हुने अड्कल गरिएको छ ।

उम्मेदवारी दिएका मध्ये एमालेका दमनबहादुर भण्डारी र कांग्रेसका अभिषेकबहादुर सिंह मुख्य प्रतिस्पर्धी छन् । नेताहरु मौन अवधि सकिनै लाग्दा आन्तरिक रणनीतिसहित सक्रिय भएका छन् ।

यहाँ नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढा र नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंह पनि प्रतिस्पर्धामा छन् । यहाँ माओवादी र समाजवादीले आफ्नो मत सुरक्षित गर्ने रणनीति मात्रै बनाएको बुझिएको छ ।

यो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्का, जसपा नेपालबाट रामबहादुर जाग्री, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा, संघीय राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का पनि उम्मेदवार छन् ।

नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेशनल रिपब्लिक पार्टीबाट कमल घर्ती मगर, नागरिक उन्मुक्ति पार्टीबाट सुशीलादेवी विष्ट र नेपाली जनता दलबाट अशोक सुनार पनि उम्मेदवार छन् ।

२०४८ साल देखि नै यो क्षेत्रमा एमाले र कांग्रेसबीच नै चुनावी प्रतिस्पर्धा हुने गरेको छ । यो पटक पनि सोही स्थिति रहेको छ ।

यहाँ एमालेका उम्मेदार भण्डारी बझाङ पार्टी जिल्ला अध्यक्ष हुन् भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अभिषेक सिंह कांग्रेसका जिल्ला कार्यसमिति सदस्य तथा सवारी दुर्घटनामा ज्यान गुमाएका तत्कालीन प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहका छोरा हुन् ।

 


१२ वैशाख २०८१, बुधवार २१:४१ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु