सुदूरपश्चिम सरकारमा जान नागरिक उन्मुक्ति पार्टी सहमत
धनगढी । अन्तत : सुदूरपश्चिम सरकारमा जान नागरिक उन्मुक्ति पार्टी सहमत भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शिर्ष नेताहरुको बैठकमा सो सहमती भएको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड , नेपाली कांग्रेसका सभापती एवं पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा , मुख्यमन्त्री कमलबहादुर शाह , भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री तथा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी, आर्थिक मामिला मन्त्री नरेश बहादुर शाही र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीको उपस्थिति रहेको थियो ।
बैठकमा नागरिक उन्मुक्ति पार्टीले दुई वटा संसदीय समितिको सभापति, एक मन्त्रालय र एक राज्यमन्त्री पाउने सहमति भएको छ ।
पार्टीले यसअघि नै पाउने भनिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र सो मन्त्रालय अन्तरगतको एक राज्यमन्त्री पाउने भएको हो ।
साउन ९ गते नै एक मन्त्री र एक राज्यमन्त्रीको शपथको तयारी गरिएको थियो । तर पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठको अन्तिम समयमा मुख्यमन्त्री शाहलाई सरकारमा सहभागी नहुने पत्रपछि रोकिएको थियो ।
यहाँ नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद छन् । २ जना सांसदलाई यसअघि नै संसदीय दलको नेता र प्रमुख सचेतकको जिम्मेवारी दिइसकेको छ । जसअनुसार बाँकी सांसदलाई जिम्मेवारी दिने तयारी गरिएको बताइएको छ ।
१६ साउन २०८०, मंगलवार ११:३६ बजे प्रकाशित































